कांकरभिट्टा ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको कार्यालय भवनको मङ्गलबार शिलान्यास गरिएको छ । रु तीन करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्कत कार्कीले प्रहरीलाई प्रविधिमैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउन प्रदेश सरकारको आर्थिक लगानीमा भवन बन्न लागेको बताउनुभयो ।
उहाँले आन्तरिक सुरक्षाको अग्रपङ्क्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिकरूपमा सम्पन्न भए मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभूति पाउन सक्ने र विकास निर्माणका काममा समेत तीव्रता आउने बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख केदार रिजालले सीमा नाकामा खटिने प्रहरीले देशकै सुरक्षास्थितिको प्रतिनिधित्व गर्ने हुँदा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन बनाउन सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
पूर्वी नाकाको सीमा क्षेत्रमा बन्न लागेको तीनतले भवन २२ कोठाको हुने इलाका प्रहरी काँकडभिट्टा प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । उहाँका अनुसार दुई कोठा हिरासतका लागि निर्माण गरिनेछ ।