झापा ।
झापाको बिर्तामोड नगरपालिका–१ स्थित भिआईपी टोलका महिलाहरु संगठित हुदैं कानुनी रुपमा समेत जागरुक बन्न थालेका छन् ।
नारी एकताको सङ्कल्पबाट शक्तिको सृजना हुन्छ भन्ने नारालाई आत्मसाथ गर्दै तुलसा मैनाली(उप्रेती)को अध्यक्षतामा २७ सदस्य समिति समेत गठन गरिएको छ । शुक्रबार बिर्तामोडमा नारी सङ्कल्प नाम संस्थाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य विमला बिकले महिलाहरुले अझैं पनि भेदभावमा पर्ने गरेकाले एकजुट हुनु अत्यन्त राम्रो कुरा भएको उल्लेख गरिन् ।
पछिल्लो समय नारीका हकअधिकारका विषयमा कानुन निर्माणका कामहरु भइरहेको भन्दै अब गाँउ,टोल र शहरका सबै महिलाले कानुनी शिक्षा लिनुपर्ने विचार ब्यक्त गरिन् । उनले पछिल्लो समय महिलाहरु पनि हरेक क्षेत्रको नेतृत्वमा पुग्ने क्रम सुरु भएको भन्दै नारी सङ्कल्प समितिलाई पनि अब्बल रुपमा अघि बढ्न शुभकामना दिइन् ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा (प्रसाई)ले अझै पनि महिलामाथि हुने भेदभावमा कमि नआएको बताइन् । उनले आफ्नो अधिकारका लागि महिलाहरु संगठित हुनुपर्ने भन्दै नारी सङ्कल्प नाम संस्था स्थापना हुनु खुशीको कुरा भएको बताइन् ।
उनले बिर्तामोड नगरपालिकाले नारी सङ्कल्प संस्थालाई सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् । कार्यक्रममा वडासदस्य प्रेम खरेल, भिआईपी टोलसुधार समितिका अध्यक्ष हरिप्रसाद शर्मा दाहाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, कांगेस वडासभापति नरेन्द्र बस्नेत, नेपका वडा उपाध्यक्ष डिल्लीमाया आर्चाय, प्रेमा भट्टराई, शुष्मा भण्डारी, नारायण चिमरिया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि सह–सचिव आशा बानियाँ(उप्रेती)ले प्रकाश परेकी थिएन् । उनले नारी सङ्कल्प नाम संस्थाले महिला तथा बालबालिकाको क्षेत्रका साथै वृद्धवृद्धाको हकअधिकारका विषयमा समेत काम गर्ने उल्लेख गरिन् ।
उपस्थित सबैलाई संस्थाकी सदस्य शिला ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमादेवी प्रसाईले गरेकी थिइन् । यसैबीच नारी सङकल्प संस्थाले महिलाहरुका लागि कानुनी विषयमा जानकारी गराउने उद्धेश्यले एक दिने प्रशिक्षणको कार्यक्रम समेत सम्पन्न गरेको छ । महिलामाथि हुने लैगिक हिंसा अन्त्य गर्न र कानुनी प्रक्रियाका विषयमा अधिवक्ता मणीकुमार पराजुलीले प्रशिक्षण दिएका छन् । कार्यक्रममा ५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।