Aamsanchar

जामुने सिमसारलाई संरक्षण गरिँदै

Author Image
सोमवार, चैत २५, २०७५

दमक,

झापाको दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् ।

प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत त्यस क्षेत्रमा जोडेर काम थाल्ने तयारी अगाडि बढाइएको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिका र हम्सेदुम्से सामुदायिक वनले समेत यसका लागि बजेट विनियोजन गरेको अवस्थामा यसै वर्षदेखि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रारिम्भक चरणका काम थालनी हुनेछ ।

वडाध्यक्ष बरालले पोखरी तयार पारेर यस वर्षभित्रमा त्यहाँ आर्कषक फूलबारीको विकास गरिने योजना रहेको बताउनुभयो । त्यस्तै, चालू आवमा ती काम सम्पन्न गर्ने र आगामी वर्षमा भने यसलाई गुरुयोजनाका साथ काम अगाडि बनाउने जानकारी उहाँले दिनुभयो ।सिमसार क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ करीब तीन हेक्टर जमीनमा यो वर्ष पोखरी विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बरालले बताउनुभयो ।

नगरपालिकाका रोमनाथ ओलीले नगरपालिकाले दमक नगरभित्र रहेका सिमसार तथा पर्यटकीय क्षेत्रको पहिचान गर्नका लागि नगरस्तरीय समिति नै निर्माण गरेर काम शुरु गरेको बताउनुभयो । त्यसको प्रतिवेदनका आधारमा पर्यटकीय गुरुयोजना बनाएर त्यस्ता क्षेत्रको विकास गरिने नगरप्रमुख ओली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारसहित प्रदेश सरकारसमेतले यो वर्ष बजेट छुट्याएकाले यस्ता लोप हुनलागेको सिमसारलाई संरक्षण गर्न सहयोग पुग्नेछ ।”

यसैबीच, जामुने सिमसारको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयवासीले नारायणप्रसाद बरालको अध्यक्षतामा एक उपभोक्ता समितिसमेत गठन गरेका छन् । गठित समितिको सचिवमा गेहनाथ पोखरेल, कोषाध्यक्षमा गायत्री बस्नेत र सदस्यमा पुरण अधिकारी, गुणराज घिमिरे, गणेश श्रेष्ठ र दलबहादुर सुब्बा रहनुभएको छ ।

आगलागीमा हँुदा छ लाख क्षति,विद्युत् चुहिएर झापाको दमक–३ स्थित गोलाटारका कृष्णप्रसाद गुरागार्इंको घरमा गए राति आगलागी हुँदा करीब रु छ लाख बराबरको क्षति भएको छ ।राति ९ बजेतिर अचानक आगलागी हँुदा गुरागार्इंको काठको बेराले बनाएको दुईतले टिनको घरमा क्षति पुगेको थियो । आगोले घरमा रहेको अन्नपात, भाँडावर्तन नष्ट भएको थियो । आगलागी प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा करीब एक घण्टापछि नियन्त्रणमा आएको बेलडाँगीस्थित अस्थायी प्रहरी चौकीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर