शान्तिनगर ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित खन्यूगौडाँमा रहेको दुई वटा घुम्ती पसलमा आगलागी भएको छ । सोमवार करिव विहान ३ बजेतिर अचानक आगो लाग्दा घुम्तीसहित सम्पुर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख कृष्णप्रसाद हुमागाँईले जानकारी दिए ।
स्थानीय चन्दा गौतम र विनिता श्रेष्ठले सञ्चालन गर्दै आएको घुम्ती पसलमा आगो लागेको र घुम्ती जलेर नष्ट भइसकेपछि सोमवार विहानमात्र स्थानीयले थाहा पाएका थिए ।
दुई घुम्ती पसलमा गरी करिव ६० हजार रुपैयाँ बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मुनामदन एकाडेमी अंग्रेजी आवसीय विद्यालयको कम्पाउण्ड बाहिर रहेको चार वटा घुम्ती पसल लस्करै थिए । तीमध्ये दुई वटामा मात्र आगो लागेको छ ।
राती कसैले आगो लगाएको हो वा आफै लागेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घुम्ती पसलमा खानेकुरा र कस्मेटिक सामाग्री रहेको थियो । उक्त घुम्ती विद्यालय विदा भएसंगै बन्द रहेको थियो । सो स्थानमा ममता श्रेष्ठ र रिता श्रेष्ठले सञ्चालन गर्दै आएको घुम्ती पसल भने सुरक्षित रहेको छ ।