Aamsanchar

असिनाले अन्नबाली नष्ट

Author Image
सोमवार, चैत २५, २०७५

गलेश्वर ।

म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती जोड्ने ग्रामीण सडकसमेत प्रभावित भएको स्वास्थ्यचौकीका अहेव बबरजंग पालले जानकारी दिनुभयो ।

“खेतभरि हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षति पुगेको छ”, पालले भन्नुभयो । उहाँका अनुसार बरञ्जाको ग्रामीण सडक वर्षात्को समयमा जस्तै अवरुद्ध हुनुका साथै सडक आसपासका क्षेत्रमा पहिरो गएपछि खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानीकोसमेत समस्या भएको छ । पहिराले वडा नं ४ को दुर्दी, भित्रीवन, महेशगाउँ, धापुङलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ भने पहिराले खानेपानीका लागि प्रयोग गरिएको पाइप बगाएपछि घरघरमा रहेका धारामा खानेपानीको आपूर्तिसमेत बन्द भएको महेशगाउँका स्थानीय कृषक दलबहादुर पुनले जानकारी दिनुभएको छ ।

दैनिकजसो असिना पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको वडा नं ४ का अध्यक्ष ओमबहादर रोकाले बताउनुभयो । असिनापानी र हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन जारी रहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास जारी रहेको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

यता गाउँपालिकाले असिनापानीका कारण अस्तव्यस्त भएका क्षेत्रमा सडक र खानेपानीसहित स्थानीयलाई सहज आवतजावत हुने गरी काम गर्ने जनाएको छ । केही दिनयता हिउँदभरिको खडेरीका कारण खेतीबारीमा बालीनाली फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांश क्षेत्रमा करोडौँको क्षति पुगेको छ । प्रहरीमार्फत क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो ।

बेनी नगरपालिका, मङ्गला, मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पूरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शनिवार, मंसिर १५, २०८१