Aamsanchar

प्रहरीकै सेटिङमा झापामा बढ्यो गाईगोरु तस्करी

Author Image
मङ्गलवार, चैत २६, २०७५

झापा,

जिल्लामा पछिल्लो समयमा गाई गोरु तस्करी झनै मौलाएको छ। कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई गोरु भारत निकासी गर्दै आइरहेको छ।

नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध रूपमा गाई गोरु भारत निकासी हुन थालेपछि यसको नियन्त्रण तथा रोकथाममा नेपाल प्रहरीले पछिल्लो समयमा सक्रियता बढाएको छ। प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनाली आएसँगै गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीले चासो देखाएको हो।

वडा प्रहरीले शनिवार भद्रपुर ३ स्थित किचकबध नाकाबाट भारत निकासी हुँदै गरेको २५ वटा गोरु बरामद गरेको थियो। बरामद गरिएको गोरुलाई करिब एक लाख रुपैयाँ मूल्याङ्कन तोकेर भद्रपुर भन्सार बुझाइसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  विशेष गरी झापाको बाहुणडाँगी, नकलबन्दा, ज्यामिरगढी, भद्रपुर, केचना, घेरावारी, कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट दैनिक गाई गोरु भारततर्फ तस्करी भइरहेको छ। ती नाकाहरू प्रहरी युनिट छ। तर पनि प्रहरी इञ्चार्जहरूले गाई गोरु नियन्त्रणमा खासै चासो देखाएको छैन।

एसपी मैनालीले प्रहरी इञ्चार्जहरूलाई तस्करी नियन्त्रणका लागि ठाडो आदेश दिए पनि त्यसको कार्यान्वयनमा इञ्चार्जहरू लागिपरेको देखिँदैन। भद्रपुरबाहेक अन्य प्रहरी युनिटका इञ्चार्ज र सादा पोसाकका प्रहरीले गाई गोरु नियन्त्रणमा चासो नदेखाउँदा प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि गर्छ।

बाहुण्डाँगी प्रहरी चौकी, नकलबन्दा प्रहरी चौकी, ज्यामिरगढी प्रहरी चौकी, घेराबारी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय गौरीगञ्जका इञ्चार्जहरूले गाई गोरु बरामद गरी भन्सार बुझाएको रेकर्ड नै देखिँदैन। केही दिनअघि सीमा प्रहरी चौकी केचनाले कचनकवल ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित हल्दिबारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानसहित सात वटा गाई नियन्त्रणमा लिएर भद्रपुर भन्सार बुझाएको थियो।

त्यसमा पनि जनप्रतिनिधिले प्रहरीलाई दबाब दिँदा भ्यानलाई भन्सार बुझाउँदा मूल्याङ्कन कम तोकेर बुझाएको छ। झापाका ती नाकाहरूमा भ्यान, जिप, ट्रकमा दिनहुँ गाई गोरु ल्याउने र बिहान, बेलुका र रातको समयमा तस्कर समूहले सोजै भारत लैजाने गरेको छ। भारतबाट ती गाईगोरुलाई बङ्गलादेश, आसाम लगायतका ठाउँमा पुर्‍याउने गरेको छ। यता गाई गोरु लगायतका तस्करी गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा इञ्चार्जहरूलाई कडा निर्देशन दिइसकेको प्रहरी कार्यालय झापाका एसपी दिनेशकुमार मैनालीले बताए। तस्करसँगै कुनै सम्झौता नहुने प्रष्ट पार्दै उनले भने, ‘गाई गोरु नियन्त्रणमा प्रहरी लागि परेको छ।’

भद्रपुरमा मात्र गाई गोरु नियन्त्रणमा बढी प्रहरीले चासो देखाएको छ, अन्य नाकाहरूमा तस्करी नरोकिएको जिज्ञासामा एसपी मैनालीले भने, ‘सबै नाकामा आफू पुग्न सकिँदैन, त्यसैले त्यहाँका इञ्चार्जलाई तस्करी रोक्न आदेश दिइसकेका छौँ। त्यसपछि पनि गाई गोरु तस्करी नरोकिए वा सेटिङमा तस्करी भए त्यस्ता इञ्चार्जलाई कारबाही गर्छौँ।’

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर