Aamsanchar

वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह

Author Image
मङ्गलवार, चैत २६, २०७५

काठमाडौँ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने र उत्पादन अभिवृद्धि गर्ने बताउनुभयो ।

दुवै देशको हितमा हुने गरी व्यापारिक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले फ्रान्सेली विमान सेवाले नेपालमा सिधैँ उडान भरेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध जतिकै मजबुत आर्थिक सम्बन्ध पनि हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निष्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो । महासङ्घका अध्यक्ष भवानी राणाले लगानीका लागि नीतिगत तथा कानूनी सुधार भएको प्रष्ट पार्दै सरकार र निजी क्षेत्रको समन्वयमा बाह्य लगानीका लागि प्रयत्न भइरहेको बताउनुभयो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्राँन्स्वइस जाभियर लेजेले दुई देशबीचको व्यावसायिक सहकार्यमा सो कार्यक्रमलाई परिणामदायी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले त्यसको सम्भाव्यता खोजी गर्नुपर्ने बताउनुभयो ।

फ्रान्समा लगानी गरिरहेका १५ प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिको सहभागिता छ । नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीसँग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीले सहकार्यका सम्भाव्य क्षेत्र प्रस्तुत गरेका थिए ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर