Aamsanchar

उत्कृष्ट नागरिक सम्मान ‘सवैको साझा कार्यक्रम’

Author Image
बुधवार, चैत २७, २०७५

बिर्तामोड।

वीरता जेसीज पूर्व अध्यक्षहरुको अगुवाईमा सञ्चालन हुँदै आएको ‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम’ झापावासीको साझा र उत्कृष्ट कार्यक्रम भएको बिर्तामोडमा आयोजित छलफलका सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी झापाका विभिन्न जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारीहरुले वीरता जेसीज र पूर्वअध्यक्षहरुको अगुवाईमा हरेक बर्ष हुँदै आएको उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सबैको साझा भएको बताउँदै यसलाई अझ उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए ।

उत्कृष्ट नागरिक सम्मान समारोह २०७५का संयोजक तथा वीरता जेसीजका पूर्वअध्यक्ष राजेन्द्र चौलागाईको अध्यक्षतामा भएको छलफलमा वीरता जेसीजका पूर्वअध्यक्ष तथा दीर्घकालीन योजना सभापति राजकुमार पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता जेसीजले फरक ढंगले उत्कृष्ट नागरिकको चयन गरी ०५२ सालबाट सम्मान गर्दै आएको बताइएको छ । यस बर्ष उत्कृष्ट नागरिक सम्मानका लागि ‘राष्ट्रसेवा’ विधा चयन गरिएको वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा समारोहका सचिव एकराज गिरीले जानकारी दिए ।

उक्त विधा अन्तर्गत रहेर जिल्लामा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई उत्कृष्ट नागरिकलाई घोषणा गरी स्वर्ण पदक, सम्मान–पत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ । उक्त सम्मानप्रति जिल्लाका सय बढी संस्थाले ऐक्यबद्धता जनाउनुका साथै ‘उत्कृष्ट नागरिक’ लाई विशेष सवारी साधनमा झाँकीसहित नगर परिक्रमा गराएर घरसम्म पु¥याउने परम्परा छ ।

छलफलमा सहभागीले कार्यक्रम आकर्षक र सबै झापावासीले सहभागी भएर हेर्न लायकको कार्यक्रम हुने समेत बताए ।
छलफलमा छनोट समितिका संयोजक कुमार भट्टराईले छनोट प्रक्रियाबारे जानकारी गराउदै उपयुक्त राष्ट्रसेवकको नाम सिफरिस गर्न पनि आग्रह गरे । समितिमा मोहन शिवाकोटी र मोहन काजी सदस्य छन् ।

छलफलमा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, उपाध्यक्ष रमेश पोखरेल, महासचिव विष्णु रिमाल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा, स्वागत सम्मान संयोजक अनिता पुरी, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडा, कोषाध्यक्ष निकास पाण्डे, अर्जुनधारा जेसीजका अध्यक्ष टिआर गौतम, चारआली जेसीजका अध्यक्ष उत्तम कटुवाल, धुलाबारी जेसीजका कोषाध्यक्ष सागर खनाल, कमलनगर जेसीजका उपाध्यक्ष सन्तोष कडरिया र घनश्याम गुरागाई लगायतले कार्यक्रमलाई साझा र उत्कृष्ट बनाउन आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

वीरता जेसीजका अध्यक्ष विशाल थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा महासचिव कुशल खतिवडा, उपाध्यक्ष एलसी श्रेष्ठ लगायतले समारोहमा सबै क्षेत्रको सक्रिय सहयोग र सहभागिताका लागि आग्रह समेत गरे ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा समारोहका सचिव गिरीले गरेका थिए । उत्कृष्ट नागरिक सम्मान समारोह–२०७५ आगामी बैशाख ५ गते दिनको १ बजे बिर्तामोडको अतिथि सदनमा गर्ने तयारी गरिएको छ ।

Views: 193

प्रतिक्रिया (०)