विराटनगर ।

प्रदेश सरकारले दूध र मासु आत्मनिर्भर बन्न भन्दै बुधबार दुई सम्झौता गरेको छ।

तत्कालको मिल्क होलिडे अन्त्य गर्न दुग्ध विकास संस्थाको विराटनगरस्थित दुग्ध वितरण अयोजनालाई ५ करोड रुपैयाँ अनुदान दिने र नयाँ पाउडर प्लाट स्थापना गर्न सरकारी, सहकारी र निजी क्षेत्रको साझेदारीमा नयाँ डेरी उद्योग स्थापना गर्ने सम्झौता भएको हो।

यस्तै, प्रदेश सरकारको लगानीमा विराटनगरमा पशु बधशाला निर्माण गर्ने विषयमा पनि सम्झौता भएको छ। सम्झौताअनुसार सुनसरीको इटहरी उपमहानगरपालिका तरहरामा २८ करोड ३० लाख रुपैयाँ लागतमा पाउडर प्लान्ट स्थापना गर्ने सम्झौता भएको हो। त्यसका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको छ।

सहकारी र अन्य दूध उत्पादक डेरीहरूले ८ करोड ३० लाख रुपैयाँ लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बिष्ट र कामधेनु डेरीका तर्फबाट बाबुराम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रदेश १ मा ५ लाख ६१ हजार मेट्रिक टन दूध उत्पादन भइरहेको छ भने प्रतिव्यक्ति १ सय १६ लिटर उत्पादन छ। अन्तराष्ट्रिय मान्यता अनुसार प्रतिव्यक्ति ९१ लिटर दूध भए पर्याप्त हुन्छ।
सोही कारण प्रदेशमा दूध बढी उत्पादन भए पनि खपत हुन नसक्दा मिल्क होलिडे गर्नु पर्ने बाध्यता छ। सोही वाध्यता अन्त्य गर्न र किसानको उत्पादनको खपत बढाउने योजनाअनुसार सरकारले लगानी नयाँ साझेदारी गरेको हो। यो आयोजना आर्थिक वर्ष २०७६र७७ मा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको हो।
यसैगरी बुधबार नै प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच आधुनिक बधशाला निर्माणका लागि सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र मन्त्रालयका सचिव हस्तबहादुर विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। विराटनगर ८ मा निर्माण हुने आधुनिक पशु वधशालाका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ उपलब्ध गराएको छ।
त्यसमा महानगरपालिकाको तर्फबाट पनि ३ करोड रुपैयाँ लगानी हुनेछ। कुल २४ करोडको लगानीमा निर्माण हुने बधशाला क्रमागत योजना मार्फत आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ। त्यसबाट उपभोत्तालाई स्वच्छ र स्वस्थ मासु उपलव्ध गराउने भएकोले जनस्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुने बताइएको छ।
सम्झौता पत्रमा हस्ताक्षर पछि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राइले दीर्घकालीन सोचका साथ किसानको पक्षमा लगानी गरेको बताए। सम्झौताबाट दूध उत्पादन गर्ने किसानहरू सबैभन्दा धेरै खुसी हुनु पर्ने बताए। मुख्यमन्त्री राईले अब प्रदेशमा मिल्क होलिडे नहुने घोषणा पनि गरे।–थाहाखबरबाट

