Aamsanchar

‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

Author Image
बिहिवार, चैत २८, २०७५

काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ ।

स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका रुपमा विकास गर्दै लैजान जरुरी रहेकामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “देश र जनताको सुरक्षा मामिलामा सम्भावित खतराको पूर्वानुमान गरी राष्ट्रिय चुनौतीको सही आँकलन गरेर जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्व वर्गको आजको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौँ नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्दै भन्नुभयो, “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको छ । आफ्नो विशिष्ट साङ्गठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्य, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”

उहाँले नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त हुनुभएका आयुक्तमा कमाण्डरका रुपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिइएको बताउनुभयो ।

Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर