काठमाडौँ,
काठेखोला गाउँपालिका–७ रेश, साँघुखोला पुग्दा दायाँपट्टि पहरामा लहरै मौरीघार देखिन्छन् । यति अफ्ठेरो भिर छिचोलेर कस्ले, किन राखे होला झट्ट जो कोहीको मनमा प्रश्न उब्जन्छ । तर रेशका मौरीपालक किसानलाई भने यो कुरा नौलो नभइ उनीहरु यसलाई परम्परागत ‘मौरी पासो’ का रुपमा लिन्छन् ।
घरबाट भागेका र रनवन डुल्ने मौरीलाई ‘छोप्न’ भिरमा घार लगेर राख्ने गरिएको किसान बताउँछन् ।मौरी गर्मीमा घार छोडेर वनतिर जाने र जाडोमा वनबाट तलतिर झर्ने गर्छन् हावापानीअनुसार मौरीको स्वभाव चिनेपछि किसानले भिरमा घार राख्न थालेका हुन् । “यो चलन हाम्रा बाउबाजेकै पालादेखिको हो,” मौरीपालक किसान जीवन गौतमले भन्नुभयो ।
गर्मी छल्न घारबाट छुट्टिने र अन्य जीवजन्तुको आक्रमणबाट बच्न भागेका मौरीलाई छोप्न ‘मौरी पासो’ विधि प्रभावकारी बनेको उहाँको भनाइ छ । “रित्तो मुढेघार भिरमा लगेर राख्छौँ,” गौतमले भन्नुभयो, “मौरी आएर बसेपछि घारसँगै घर ल्याउँछौँ ।”एकै ठाउँमा धेरै घार राखिए पनि मौरीले रोजेर बस्ने र त्यसरी बसेको घारलाई लामो समयसम्म नछोड्ने गरेको बताइन्छ ।
बस्तीदेखि परको भिरमा राखिएका परम्परागत मुढेघारमा घारबाट छुट्टिएका र जङ्गलतिरबाट झरेका मौरी बस्ने गरेका छन् ।प्राकृतिक रुपमा मौरीको बसोबास भएको र बढी घुम्ने ठाउँको पहिचान गरी ‘मौरी पासो’ थाप्ने गरिएको अर्का मौरीपालक किसान युवराज गौतमले बताउनुभयो । गर्मीयाम शुरु भएपछि अहिले साँघुखोला र डोहोटाको भीरमा थुप्रै घार राखिएको छ ।
असोज, कात्तिकमा लेकबाट बेशीतिर झर्ने मौरीलाई घारमा ल्याउन पनि सोही विधि अपनाउने गरिन्छ । घार लगेर भिरमा राखेको साता, दश दिनमा मौरी आएर बस्ने गरेका छन् । मौरी बसेपछि किसानले घारलाई जतनसाथ नहल्लाईकन घरमा ल्याएर राख्ने गर्छन् ।
रेश गाउँका झण्डै ५० घरपरिवारले परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । किसानले उत्पादन गरेको मह प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । महको माग अत्यधिक भएकाले मौरीपालन व्यवसाय फस्टाउने देखिन्छ । मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउन प्रविधि र लगानीमा सहयोग गरिने वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । गण्डकी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा एक सय आधुनिक घार रेशका किसानलाई वितरण गर्ने तयारीमा वडा कार्यालय छ ।