Aamsanchar

एकै दिन मनाइँदैछ दुई पर्व, बिहान चैतेदशैँ, दिउँसो रामनवमी

Author Image
शनिवार, चैत ३०, २०७५

काठमाडौं ।

यो वर्ष चैतेदशैँ र रामनवमी एकैदिन मनाइँदैछ। शनिवार बिहान ८स् ४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले उल्लेख गरेका छन्।सोहीअनुसार बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिँदैछ भने दिउँसो भगवान् रामको आराधना गरिँदैछ।

नवरात्रको अष्टमीमा गर्नुपर्ने विधि सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’,पञ्चांग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतम भन्छन्, अष्टमीको सूर्योदय शनिबार बिहान नै हुन्छ।’ त्यसैले यही दिन चैतेदशैँ मनाउन पञ्चांगले निर्देश गरेको उनले बताए। ‘रामको पूजा भने मध्याह्नमा गर्नुपर्ने बताइएको छ’, गौतम भन्छन्, ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ।’

त्यसैले बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरू बताउँछन्। पुराणविद् पं। बालमुकुन्द देवकोटाका अनुसार मध्याह्नव्यापिनी नवमी तिथिमा श्रीरामचन्द्रको जन्म भएकोले सोही अनुसार उपवास बस्ने विधान रहेको हो।

‘अष्टमी बितेर अघिल्लो दिन पनि मध्याह्नव्यापिनी नवमी र अर्को दिन पनि मध्याह्नव्यापिनी भए दोस्रो दिनको मध्याह्नव्यापिनी नवमी उपासना गर्ने विधान पुराणमा उल्लेख छ’, उनले भने, ‘दुवै दिन मध्याह्न व्यापिनी नवमी तिथि छैन भने अष्टमीविद्धा नवमी निषेध गरिएकाले दोस्रो दिनको नवमी उपवास गर्नुपर्छ।’

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै नौदिनसम्म शक्तिको उपासना गर्ने परम्परा छ। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँको अवसरमा काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा घुइँचो लागेको छ। यस्तै राममन्दिरहरू पनि श्रद्धालुले भरिएका छन्। अघिल्लो वर्ष पनि यी दुईटै पर्व एकै दिन परेका थिए।–थाहाखबरबाट

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर