काठमाडौं – तराई मधेशमा सक्रिय युवाहरुमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि सप्तरीका सामाजिक अभियन्ता प्रकाशमणि राउतसहित पाँच जनाले जितेका छन्।

विभिन्न विधामा भएको छनोटमा मधेशका उदीयमान युवाहरुमा प्रकाशमणि राउतले लोकप्रिय भोट पाएर विजेता चयन भएका हुन्। प्रकाशमणिसँगै नरेन्द्र पासवान, रामविलास चौधरी, राकेशरोशन यादव र सरफुल्लाह अन्सारीले पनि मधेशका उदीयमान युवाहरुको सूचीमा आफूलाई सुरक्षित गरेका छन्।

महिला सशक्तीकरणतर्फ चाहिँ मुन्नी श्रीवास्तव, प्रमिशा मिश्रा, पुष्पा यादव, शोभादेवी मण्डल र सुनिताकुमारी साह विजेता भएका छन्। सामाजिक, आर्थिक, राजनीतिक, कला, साहित्यसहित विभिन्न १० वटा विधामा प्रतिभाहरुको चयन गरिएको आयोजक मधेशी पत्रकार समाजले जानकारी दिएको छ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड लगायत विभिन्न क्षेत्रका अगुवाहरुले पुरस्कार वितरण गरेका थिए।
को हुन्, प्रकाशमणि राउत ?

सप्तरीको महादेवामा २०५१ साल फागुन ४ गते जन्मिएका प्रकाशमणि राउत पछिल्लो पाँच वर्षदेखि समाजसेवामा सक्रिय छन्। विशेषगरी, पिछडावर्गका नागरिकको हक अधिकारका पक्षमा वकालत गर्दै आएका प्रकाशमणिका बुवाश्यामसुन्दर राउत किसान हुन्, आमा लक्ष्मीदेवी राउत गृहिणी। प्रकाश नेपाल नामक संस्थाका संस्थापक अध्यक्ष रहेका राउत युनिभर्सल पिस एण्ड भाइलेन्स एमुरेसन सेन्टरका लागि सद्भावना दूत हुन्। पिछडावर्गको हकहित तथा अधिकारका लागि ११ दिन रिले अनशन बसेका राउतले राज्यबाट अधिकार प्राप्तिका लागि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

