विराटनगर।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उहाँले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने विचार व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाडाँैपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गर्दै उहाँले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले सम्पूर्ण जातजातिको भाषा, धर्म, संस्कृति र वेषभूषाको संरक्षणवाट मात्र मुलुकमा समृद्धि आउने बताउनुभयो ।

