Aamsanchar

एयरपोर्टमा चमत्कारिक परिवर्तन गर्ने चुडाल ‘उत्कृष्ट नागरिक ०७५’

Author Image
बिहिवार, वैशाख ५, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै विदेशी पर्यटकले यात्रा गर्ने बिमानस्थलका रुपमा परिचित छ– चन्द्रगढी एयरपोर्ट । सुदुर पूर्वको भद्रपुर नगरपालिकामा रहेको यो विमानस्थल यसवर्ष देशमै उत्कृष्ट बिमानस्थल बन्न सफल भयो । उत्कृष्ट विमानस्थल हुनुमा त्यहाँको व्यवस्थापकीय पक्ष नै प्रमुख हो । त्यसमा पनि त्यहाँ रहेका कर्मचारीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ ।
बिमानस्थल प्रमुख पूर्णप्रसाद चुडालले सीमित स्रोत र साधनको सदुपयोग गर्दै अधिकतम् उपलब्धि हासिल गराएकै कारण चन्द्रगढी विमानस्थल देशकै उत्कृष्ट भएको हो । २०५५ सालमा तात्कालीन ह्वाई सेवा विभागबाट जागिरे जीवन शुरु गरेका चुडाल अहिले नागरिक उड्ययन प्राधिकरण चन्द्रगढीको प्रबन्धक पदमा कार्यरत् रहेका छन् । उनैको अथक मेहनत र परिश्रमका कारण यो विमानस्थल देशभरकै उत्कृष्ट भएको हो ।

४३ वर्षअघि झापाको चारपानेमा जन्मिएका चुडालले २०७३ सालबाट चन्द्रगढी बिमानस्थलको बागडोर सम्हाले । दिउँसो र मौसम सफा रहेको बेला मात्र सुचारु रहने चन्द्रगढी बिमानस्थललाई उनकै पहलमा रात्री उडानको समेत शुरुवात गराए । जसका कारण उनको चर्चा अहिले झापामा मात्र होइन देशभरनै चुलिएको छ ।
भक्तिप्रसाद र लक्ष्मीदेवी चुडालका छोरा पूर्णको सानैदेखिको रुची थियो नेपाल प्रहरीमा जागिर खाने । तर, उनले कानून विषय अध्ययन गरे । कानूनमै उनले स्नाकोत्तर गरे । नेपाल ल क्याम्पसबाट वीएल गरेका उनले आरआर क्याम्पस काठमाडौंबाट स्नाकोत्तर गरेका थिए । अरुभन्दा फरक कर्म गर्न रुचाउने चुडालले हवाई सेवा बिभागमा एटीसी अफिसरको रुपमा काम गर्दै नागरिक उड्ययन कार्यालयमा रहेर अहिलेपनि सेवा गरिरहेका छन् ।

हाल कनकाई नगरपालिका–९ घैलाडुब्बास्थित आदर्श विद्या मन्दिरबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका चुडालले कानून विषयमा स्नाकोत्तर गरे पनि प्रहरी बन्ने सपना भने देख्न छाडेनन् । प्रहरीको बर्दी देख्न बित्तिकै अहिले पनि उनी पुरानै सपना सम्झन्छन् ।
झापाबासी भएको नाताले आफ्नो जन्मभूमिमा केही गर्नुपर्छ भन्ने लक्ष्य लिएका चुडाल काठमाडौंमा रहँदा पनि झापाको विमानस्थललाई स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने सपना देखिरहन्थ्ये । काठमाडौं एयरपोर्टको टर्मिनल डिपार्टको प्रमुख भएर काम गरेका चुडालले चन्द्रगढी विमानस्थललाई पनि स्तरोन्नतिसँगै बर्मेलीसम्मका नेपाली भाषीलाई जोड्न पहल थालेका छन् । उनले अहिले चन्द्रगढी विमानस्थलको स्तरोन्नतिसँगै नेपालीसहित भारत, भुटान, बंगलादेश र बर्माका नागरिकलाई सहज रुपमा हवाई सेवा दिने सपना बोकेका छन् । जसका लागि माथिल्लो निकायबाट सर्वेको काम अघि बढाएका छन् ।

हुन त फरक विषय अध्ययन गरेर फरक क्षेत्रमा जागिर खाएपनि उनको तीक्ष बुद्धिका कारण अहिले उनको चर्चा चुलिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा लामो समयसम्म अन्तर्राष्ट्रिय डिपार्टमा काम गरेको अनुभवकै कारण उनले झापाबाट बंगलादेशसम्मको हवाई मार्ग सुचारु गर्न थालेको पहल सवै झापालीका लागि प्रशंसनीय र अनुकरणीय छँदैछ । त्यसमाथि पनि देशभित्रै काठमाडौं उपत्यका बाहिरका तीन ठाउँमा चन्द्रगढी एयरपोर्टबाट सिँधै उडान भर्ने उनको योजनाले अहिले प्राथमिकता पाएको छ ।
पूर्वी नेपालको ‘गेट वेट’का रुपमा रहेको चन्द्रगढी विमानस्थालमा शुरुका दिनमा टुइनेटर र डोनियर जहाज ल्याण्ड गरे पनि अहिले ७२ सिटे ठूला जहाज ल्याण्ड गर्न सक्ने भएका छन् । सीआएर जेट, एटिआर जेट जस्ता ठूला जहाज चन्द्रगढी बिमानस्थलमा सहज रुपमा अवतरण गर्न थालेका छन् । दैनिक एक हजार भन्द बढी यात्रुले यो विमानस्थल भएर यात्रा गर्ने गरेका छन् । दैनिक पाँच बिमान कम्पनीले यो विमानस्थलबाट सेवा दिँदै आएका छन् । बिराटनगरसंगै पूर्वको १२ महिला सुचारु हुने चन्द्रगढी विमानस्थलले पूर्वको पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै सम्भावना बोकेको छ ।

भारत, भुटान, वर्मा, बंगलादेशका पर्यटकलाई चन्द्रगढी विमानस्थल हुँदै पोखरा लगायतका पर्यटकीय क्षेत्रमा पु¥याउन र पूर्वको प्रमुख धार्मिक गन्तव्य पाथीभराको दर्शन गराउन सकिए पूर्वको पर्यटन विकासमा टेवा पुग्ने चुडाल बताउँछन् ।
आफ्नो कार्यकाल मै वर्मासम्मका नेपालीलाई चन्द्रगढी विमानस्थलमा अवतरण गराएर पाथीभराको दर्शन गर्ने मार्ग खुलाउन उनी अहिले लागेका छन् । भारत, भूटान, वर्मामा रहेका नेपाली भाषीमध्ये वर्षेनि १० प्रतिशत नागरिकलाई पर्यटकका रुपमा झापा भित्र्याएर पाथीभरा लगायतका धार्मिक शक्तिपीठसहित झापा, इलाम, पाँचथर र ताप्लेजुङमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराउन सकिए वर्षेनि अरवौं रुपैयाँ भित्र्याउन सकिने सोच चुडालले बोकेका छन् । सोही अनुरुप उनले अहिले तीव्र गतिमा काम अघि वढाएका छन् ।
चन्द्रगढी विमानस्थललाई नियमित सुरक्षित, भरपर्दाे बनाउन तल्लीन चुडाल अहिले विमानस्थलको आन्तरिक सुधारमा जुटेका छन् । यस अघि जहाजमा इन्धन भर्न समस्या रहेपनि अहिले त्यो समस्याको समाधान उनले गरेका छन् । अव चन्द्रगढी बिमानस्थलमा जहाजले सहज रुपमा इन्धन भर्न सक्ने भएका छन् । यो कामको सुरुवात चुडालले नै गराए । नेपाल आयल निगमसंग सहकार्य गर्दै २०७३ सालबाट यही विमानस्थलबाटै उनले इन्धनको व्यवस्था गरेका हुन् ।

भिएफआर प्रविधिबाट जहाज अवतरण गर्दै आएको चन्द्रगढी बिमानस्थललाई उनकै पहलमा अहिले नयाँ उपकरण र प्रविधि जोड्दै २२ सय मिटरको भिजिविलिटमा जहाज ल्याण्ड गराउन सक्ने बनाएका छन् । यसअघि जहाज अवतरण गर्न ५ किलोमिटर भिजिविलिटी आवश्यक रहेको थियो ।
२०७४ साल पुसमा २१ दिनसम्म चन्द्रगढी विमानस्थल बन्द भएपछि उनले भिएफआर प्रविधि विमानस्थलमा जडान गराए । तर, रात्री सेवा शुचारु गर्दा त्यसले मात्र नपुगेपछि उनले चन्द्रगढी बिमानस्थलमा आइएफआर प्रविधि जडान गराएका छन् । जसका कारण अहिले सहज रुपमा चन्द्रगढी बिमानस्थलमा जहाज अवतरण गर्दै आएका छन् । पहिला डे आइफार प्रविधि जडान गरेको चन्द्रगढी विमानस्थलले ग्राउण्डमा प्रविधि नभएपछि सेटेलाइट वेस डे आइएफर प्रविधि जडान गरेको छ । अहिले नाइट फ्लाईटका लागि नाईट आइएफर समेत जडान गरिएको छ । योसँगै विमानस्थलमा लाईट जडान गरिएको छ । नाइट फ्लाईटका लागि रन वे मा पाँच प्रकारको लाइट आवश्यक रहेकाले त्यो समेत जडान भएको चुडालले बताए ।

अहिले चन्द्रगढी बिमानस्थलमा रन वे लाइड, थ्रेसउड लाइड, रन वे इण्ड लाईट, वेकन लाइट र पपीलाईट जडान गरिएको छ । चन्द्रगढी विमानस्थलबाट माघ १७ गतेदेखि प्रधानमन्त्री केपीशर्मा ओलीले नाइट फ्लाइटको उद्घाटन गरेका थिए । बिमानस्थलको पश्चिमतर्फ एप्रोज लाईट राख्न पहल थालिएको र यो लाइट जडान गरेपछि १३ सय भिजिविलिटीमै जहाज अवतरण गर्न सकिने भएको छ । जुन कामको समेत चुडालले शुरु गराएका छन् । बिमानस्थलमा एप्रोज लाईट जडान गरेपछि सेटेलाइटसँग कनेक्सन गराएर १३ सय मिटर भिजिविलिटीमै जहाज अवतरण भए २४सै घण्टा यो विमानस्थल खुल्ला रहने चुडाल बताउँछन् ।

आएएफआर प्रविधि जडानका लागि जापानिज कम्पनी जाइकाले भीओआरडीमी निःशुल्क उपलव्ध गराएको चुडालले बताए । सो प्रविधि जडानका लागि विमानस्थालको पूर्वतर्फको जमिन समेत अधिग्रहणको काम भइरहेको छ । अहिले साढे ११ विगाह जमिन अघिग्रहणका लागि सरकारले झण्डै १४ करोड रुपैयाँ वितरण गरेको छ । जुन काम चुडालकै पहलमा गरिएको छ ।
भीओआरडीमी प्रविधि जडानका लागि जापानिज टोलीले अध्ययन गरेको छ । भीओआरडीमी प्रविधि जडानसँगै बिमानस्थालमा जहार राख्न एप्रोनलाई बढाउने काम गरिदै छ । असारभित्र थप तीन वटा जहाज राख्न सकिने ठाउँको अहिले तयारी तीव्र बनाइएको छ । यो काम सम्पन्न भएपछि चन्द्रगढी बिमानस्थलमा एकैपटक पाँच वटा जहाज राख्न सकिने भएको छ । चुडालले यो संगै रनवेको माथिपट्टीको पीचमा समस्या देखिएपछि त्यसलाई ‘ओभर ले’ गर्न पहल थालेका छन् । योसँगै आपतकालीन अवस्थामा जहाज अवतरण गराउनु परे यो विमानस्थालमा फाइलभेकल यसै वर्ष राखिने भएको छ ।

विमानस्थाललाई सुरक्षाका लागि अझ सहजताका लागि समेत काम भइरहेको बताइन्छ । इन्धनको सुरक्षाका लागि बिमानस्थल परिसरमै स्टोर गरिने बताइएको छ । जसका लागि टेण्डर प्रक्रिया शुरु गरिएको चुडाल बताउँछन् । बिमानस्थललाई अझ प्रभावकारी बनाउन ट्याक्स वे, ट्रमिनल विल्डिङ्ग निर्माण र रन वे भूभागलाई बढाउँदै विमानस्थाललाई अपग्रेड गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विमानस्थलको स्तरवृद्धि गर्दै लान निर्देशन दिएपछि अहिले पूर्वतर्फ रनवे एक हजार मिटर बढाएर अन्तराष्ट्रिय फ्लाईट, कलकत्ता, गुहाटी, ढाकामा सिधा उडानका लागि पहल थालिएको चुडाल बताउँछन् ।

आन्तरिक उडानका लागि पोखरा, भैरहवा र वुटवलमा समेत उडान भर्न आन्तरिक रुपमा पहल थालिएको छ । अहिले चन्द्रगढी विमानस्थलमा एक्स–रे मेसिन जडान गरिएको छ भने सीसी क्यामेराको निगरानीमा सिङ्गो विमानस्थललाई राखिएको छ । केही दिनभित्र हेण्ड व्यागका लागि समेत एक्स–रे मेसिन राखिँदैछ । ४ सय यात्रुलाई सहज रुपमा बस्न डिपाचर हल तयार गरिएको छ । जहाँ एसी समेत जडान गरिएको छ भने डिपाचर हलभित्रै महिलामैत्री शौचालय समेत तयार गरिएको छ । एक सय यात्रु वस्न सक्ने गरी प्रतिक्षालय तयार गरिएको छ भने बच्चा खेल्नका लागि खेल्ने ठाउँ र व्युटीफिकेशन समेत तयार गरिएको छ । बिमानस्थल भित्र स्तनपान कक्ष, सुत्केरी, वृद्धवृद्धालाई बस्न छुट्टाछुट्टै कोठा तयार गरिएको छ । जहाँ जाडोमा हिटर र गर्मीमा एसी जडान गरिएको छ ।
बिमानस्थालमा ट्याक्सी स्टेण्ड, पार्किङ एरिया, विभिन्न भगवानका मूर्ति समेत राखिएको छ । केही दिनभित्र बिमानस्थाल प्रवेश गर्ने सडकलाई समेत मर्मत गरिने विमानस्थल प्रमुख चुडालले बताएका छन् ।

चन्द्रगढी विमानस्थालको अधिकतम् प्रयोग गर्ने तेस्रो देशकका नागरिकमा भुटानका बढी छन् । भुटानको फुलिछिलिङका नागरिकले यो बिमानस्थलको बढी प्रयोग गर्ने गरेका छन् । योसहित वंगाली, बर्मेली, भारतीय नागरिकले पनि यो बिमानस्थलको अधिकतम् प्रयोग गर्ने गरेका छन् । पाँच देशको नागरिकले सहज रुपमा सेवा लिन सक्ने विमानस्थालको विकास र बिस्तारसँगै अझ बढी चाप हुने विश्वास लिइएको छ ।
‘मे, जुन, जुलाई र अप्रिल, सेप्टेम्वर, अक्टोवर नोवेम्वर, डिसेम्वरमा दिल्ली या कलकत्ताबाट काठमाडौं आउनुप¥यो भने या काठमाडौबाट दिल्ली, कलकत्ता जानु परे भाडादर उच्च हुन्छ’– चुडाल भन्छन्– ‘सिँधै काठमाडौंबाट आउन जान यो एयरपोर्ट प्रयोग गरे आघाभन्दा सस्तो दरमा यात्रुले सेवा लिन सक्छन् ।’ चुडाल थप्छन्– त्यही भएर पनि चन्द्रगढी एयरपोर्टको स्तरउन्नति र अन्तर्राष्ट्रिय उडान जरुरी छ । आठ महिना टे«किङको समय हो– उनी भन्छन् – ‘४० हजार रुपैयाँ दिल्ली पुग्दा लाग्ने खर्च यताबाट उड्यो भने १५ देखि १८ हजारमै हुन्छ । अहिले पनि दिल्लीको प्यासेन्जरलाई वागडोगरा एयरपोर्ट हुँदै चन्द्रगढी बिमानस्थलको बाटो भएर काठमाडौं जाँदा आधाभन्दा धेरै सस्तो हुन्छ ।’

घाँसे मैदानबाट २०२६ सालदेखि उडान भर्न शुरु गरेको चन्द्रगढी एयरपोर्ट विभिन्न कालखण्डमा बन्द हुँदै सुचारु हुँदै आएको थियो । तर, २०४७ सालबाट यो विमानस्थलले नियमित उडान हुँदै आएको छ । बिमानस्थलको थप व्यवस्थापनको काम २०५६ सालबाट भएको चुडाल बताउँछन् । अहिले चन्द्रगढी विमानस्थलको १५ सय मिटरको रन वेको व्लायक टप छ । तीन वटा जहाज राख्न सकिने ठाउँ छ । थप स्तरोन्नति गर्दै अझैं दुई वटा पार्किङ गरिने ठाउँ तयारी गरिँदै आएको चुडालले बताए ।
विमानस्थलले स्तरोन्नतिको पछि अबको दुई वर्षमा मात्र यसको थप रुप लिने चुडाल बताउँछन् । उनी भन्छन्– यो विमानस्थालमा दुईभित्र ट्याक्स वे, टर्मिनल विल्डिङ, तयार गरिने चुडालको भनाइ छ । जहाजलाई वान वे गराउन ट्याक्स वे तयार गरिने उनी बताउँछन् ।
विमानस्थलको ६५ विगाह अहिलेको क्षेत्रफल हो । यसमा साढे ११ विगाह जमिन अधिग्रहणको काम भइरहेको र त्यो समेत थपिने चुडाल बताउँछन् । नापीले इस्क्याचमा नक्सा तयार पारिरहेको बताउँदै उनी भन्छन् – निकट भविश्यमा अझ धेरै जग्गा यो विमानस्थललाई आवश्यक पर्छ त्यसका लागि समेत दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ ।’

चन्द्रगढी बिमानस्थालको आफूलाई सिपाही बताउने उनी भन्छन्– निकट भविष्यमा देशकै नम्वर वान एयरपोर्ट वनाउने लक्ष्य मेरो छ । यो विमानस्थलबाट धेरैभन्दा धेरै ठाउँमा आन्तरिक उडान भर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चन्द्रगढी विमानस्थललाई जोड्ने मैले सपना देखेको छु ।’ भारत, बंगलादेश, पाकिस्थान, श्रीलंका, चीन, माल्दिप्स, अमेरिका, क्यानेडा, व्रिटेन, नेदरल्याण्ड, फ्रान्स, जर्मन, स्वीजरल्याण्ड, स्पेन, युएई, मलेसिया, सिङ्गापुर, थाइल्याण्ड, हङकङको यात्रा गर्दा चुडालले देखेका त्यहाँको विमानस्थलको व्यवस्थापनको सिको गर्दै उनले चन्द्रगढी विमानस्थललाई पनि परिस्कृत र परिमार्जन गर्ने सपना बनाएका छन् ।
एलएलएम गर्न बंगलादेश जान लागेका चुडाल सोच्दै नसोचेको क्षेत्रमा प्रवेश गरेर राष्ट्र सेवाको क्षेत्रमा पु¥याएको योगदान साच्चै सवैका लागि अनुकरणीय छ ।
साभारः पूर्वाञ्चल दैनिकबाट

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर