झापा ।

अनारमनी ईलाका प्रहरी कार्यालय विर्तामोडमा रहस्यसय मृत्यु भएका झापा मेचीनगर नगरपालिका ६ का १६ बर्षीय किशोर किरण कार्की ढोलीको हिरासतमै शंकास्पद मृत्यु भएको भन्दै अधिकारकर्मीहरुले सत्यतथ्य छानबिनको माग गरेका छन् ।

उनिहरुले बिभिन्न ५ बुँदे माग अघि सार्दै ३ दिन भित्रमा घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।शुक्रवार झापाको विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिभिन्न क्षेत्रका अधिकारकर्मीहरुले घटना शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

मेचीनगर नगरपालिका ६ का १६ बर्षीय किरण कार्की ढोलीलाई गत चैत्र २९ गते १० हजार रुपैयाँ चोरीको अभियोगमा ईलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको थियो ।प्रहरीले कार्की ढोलीले बैशाख २ गते बिहान २ बजे आत्महत्या गरेको बताउँदै आएको अधिकारकर्मीहरुको भनाई छ । तर घटनाको प्रकृति हेर्दा किरणले आत्महत्या गरेको हुुनै नसक्ने अधिकारकर्मीहरुले दाबी गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत अधिकारकर्मीहरुले घटनाका बिषयमा बिभिन्न ५ बुँदे माग अघि सारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुवास खड्कालाई निलम्बन,अधिकारकर्मी सहितको छानबिन आयोग गठन,दोषीलाई कडा कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने माग गरेका हुन् ।
अधिकारकर्मीहरुले किरणलाई पक्राउ पुर्व अदालतको स्वीकृती नलिएको,पक्राउ पश्चात अभिभावकलाई खबर नगरेको र मृत्युपछि मात्रै खबर गरेको,प्रहरीले मृतक बालकको उमेर गलत उल्लेख गरेको,आत्महत्या भएको स्थानको स्थलगत अवस्था पत्याउनै नसक्ने रहेको लगायतका कुराहरु उल्लेख गरेका छन् ।आफुहरुले राखेको माग ३ दिन भित्रमा पुरा गर्न समय सिमा दिएको उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टिकाराम मंग्रातीले बताउनु भयो ।
घटनाका बिषयमा जारी गरीएको विज्ञप्तीम उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टिकाराम मंग्राती,मुक्त्ति समाज १ नम्बर प्रदेश कमिटी सदस्य छविलाल विश्वकर्मा,नेपाल दलित संघका केन्द्रीय सदस्य नगेन्द्र शंकर,मुक्त्ति समाज झापाका अध्यक्ष भोला परियार,मुक्त्ति मोर्चाका जिल्ला सदस्य मोहन पौडेल लगायतका अधिकारकर्मीहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।

