

काठमाडौं । जलाउन घाट पुर्याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणवारे अनुसन्धान सुरु गरेको छ।

वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो। अन्जुका पति पन्नालालसमेत फरार छन्।

परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए। उनले शव जलाउन गैया घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको उनले बताए।
स्थानीयका अनुसार अञ्जुदेवीका पति पन्नाला र आफन्तले सुरुमा शव भारतमा लगेर दाहसंस्कार गर्न खोजेका थिए। उनीहरुले घरमै एम्बुलेन्ससमेत बोलाएका थिए। तर, एम्बुलेन्स चालकले शव भारत लैजान नमानेपछि सिर्सिया घाटमा जलाउने तयारी भएको थियो।


