Aamsanchar

विपन्न परिवारलाई घर बनाउँदै चन्द्रगढी वन

Author Image
मङ्गलवार, वैशाख १०, २०७६

भद्रपुर । जसोतसो आफैंले जोडेको १२ धुर जमिन । जमिनमा एउटा सानो फुसको छाप्रो । घर पुग्ने सडक छैन, खेतको आलीबाट हिंडडुल गर्नुपर्छ । हावाहुरीले छाप्रो उडाउने त्रास । बर्खायाममा पानी चुहिने समस्या । जाडोको त कुरै छाडौं । यस्तो छाप्रोमा जीवन बिताउँदै छन्– भद्रपुर–९का राजवंशी दम्पत्तिले ।

भद्रपुर–९स्थित पोकापाडा बस्ने प्रेमलाल राजवंशी र मालती राजवंशीले सपनामा पनि सोचेका थिएनन् कि बुढेशकालमा यी सबै पीडा भुलाउन ट्रससहितको पक्की घरमा बस्न पाउँला ! राजवंशी दम्पत्ति सन्तानविहीन हुन् । छोराछोरी नभएको पीडा बुढेशकालमा उनीहरुभन्दा बढी कसलाई थाह होला र ? गाउँघरमा डुलेर केरा बेच्दै आएका प्रेमलाल अहिले काम गर्न नसकेर थला परेर बसेका छन् । एक बर्ष नपुगेकोले प्रेमलालले सरकारले दिने सुविधा अर्थात् वृद्ध भत्ता पनि पाएका छैनन् । श्रीमती मालतीले वृद्ध भत्ता पाइरहेकी छिन् । मालतीले गाउँ छिमेकमा सामान्य मजदुरी गरी जुटाएको रकम र वृद्ध भत्ताले जसोतसो जीवन चलाउँदै छिन् ।

अति विपन्न राजवंशी दम्पत्तिको जीवनस्तर देखेर भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले ट्रससहितको पक्की घर निर्माण गरिदिँदैछ । घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वन समितिले घर निर्माण कार्यको थालनी गरेसँगै राजवंशी दम्पत्ति दंग छन् । उनीहरुमा खुशीको सीमा छैन । ‘दुःख–सुःख जमिन जोडेर एउटा फुसको छाप्रो बनाएका थियौं, प्रेमलालले पीडा सुनाउँदै भने– ‘फुसको घरमा बस्दा हावाहुरीले उडाउन डर, वर्खायाममा पानी चुहिने, जाडोमा चिसोको डर ।’ उनले भने– ‘आफ्नो त छोराछोरी पनि छैन्, बूढाबूढीलाई दैनिक मुख जोड्न पनि समस्या छ, वनले निःशुल्क पक्की घर बनाइदिँदा हामी भन्दा भाग्यमानी अरु को हुन सक्छ र ?’ राजवंशी दम्पत्तिसँगै वन समितिले आफ्नो उपभोक्ता समूहभित्रका अतिविपन्न अरु पाँच घरपरिवारलाई समेत ट्रससहितको पक्की घर निर्माण गरिदिँदैछ ।

समितिले सामाजिक उत्तरदायित्व र गरिवी निवारण कार्यक्रम अन्तरगत भद्रपुर–९का दुर्गा कार्की, गुमानी राजवंशी, निरौलासरी राजवंशी र वडा नम्बर १०का पार्वती चौहान, लटखटु राजवंशीलाई तीन कोठे पक्की घर बनाइ दिन लागेको समितिका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । सरकारले झापामा जनता आवास कार्यक्रम शुरु गरिसकेको अवस्था छ ।

तर, यी घरपरिवार सरकारको प्रथामिकतामा परेनन् । न स्थानीय तहले चासो देखायो न त जनप्रतिनिधिले ध्यान पुर्याए । ‘तीन वटा घरको काम अन्तिम चरण पुगेको छ’– खतिवडाले भने– ‘अबको केही दिनमा अरु तीन वटा घर निर्माण हुन्छ ।’ प्रति पक्की घर निर्माणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च हुन्छ । समितिले चर्पीसहित घरमा चाहिने आवश्यक काठ पनि उपलब्ध गराउँछ– उनले भने ।

त्यसैगरी समितिले यसअघि विपन्न घरपरिवारहरुलाई निःशुल्क रुपमा हलो, खाट, झुल वितरण गरिसकेको छ । साथै सामुहिक रुपमा तरकारी खेती गर्ने कृषकहरुलाई नगद अनुदान दिइसकेको छ । वेमौसमी तरकारीको लागि टनेल समेत निःशुल्क रुपमा वितरण गरिरहेको समितिका अध्यक्ष हिरा पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर