नरेन्द्र ढकाल

बिर्तामोड । सार्वजनिक सेवाका सवारी साधनहरुले कानून पालना नगरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कानून बनेको १३ वर्ष भइसक्दा समेत अझै कार्यान्वयन हुन नसक्नु दुःखद् भएको सामाजिक विकास मन्त्रालय प्रदेश १की महाशाखा प्रमुख दुर्गा भण्डारी(बराल)ले बताइन् । उनले सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग, महिला, बालबालिका तथा विद्यार्थीका लागि निर्माण गरिएका कानून पालना हुन नसकेको बताएकी हुन् ।

उनले पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर लगायतका १४ जिल्लामा सञ्चालनमा रहेका सवारी साधनहरुले कानूनको पालना नगरेको बताएकी हुन् । कानूनको पालना नगरे व्यवसायीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकार अगाडि बढ्ने उनको भनाइ छ ।
ज्येष्ठ नागरिक, महिला बालबालिका र बिद्यार्थीलाई सरकारले तोकेको छुट सुविधा उपलब्ध गराउने विषयमा झापाको बिर्तामोडमा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखा प्रमुख भण्डारीले प्रदेश सरकारले कानून निर्माणको कामलाई तीब्रता दिएसँगै सरोकारवाला निकायसँगको छलफललाई तीब्र बनाएको बताइन् ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख भण्डारीले ८० प्रतिशत यातायात व्यवसायीले कानूनको पालना नगरेको उल्लेख गरिन् । उनले सबैको सुझाव समेटेर उचित निर्णय लिने पनि बताइन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै यातायात व्यवसायीहरुले भने सरकारले कानून निर्माण गरे पनि समय अनुकूल कानून बन्न नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरुले कानून निर्माण गर्दा भौगोलिक अवस्था तथा परिवेशलाई नहेरी कानून लाद्न खोजेको आरोप समेत लगाए ।

यातायात व्यवसायी बसन्त तिवारी बुद्धले सरकारले कानून बनाए पनि कार्यान्वयन भने फितलो रहेको धारणा व्यक्त गरे । सगरमाथा यातायात प्रालिका महानिर्देशक समेत रहेका तिवारीले आफ्नो यातायातले ज्येष्ठ नागरिक, महिला, अपाङ्ग र बालबालिकाको छुटको विषयमा पूर्ण रुपमा कार्यान्वयन गरेको दावी गरे । उनले ज्येष्ठ नागरिकलाई राज्यले तोके बमोजिम ५० प्रतिशत छुट दिन आफ्नो यातायात प्रालि तयार रहेको धारणा राखेका थिए । उनले अपाङ्ग नागरिकको विषयमा भने केही कठिनाई भए पनि सकेसम्म सबै यात्रुहरुलाई समान व्यवहार गर्ने गरेको उल्लेख गरे । उनले कुनै समस्या आएमा आफ्नो यातायातले दिने टिकटमा सम्पर्क नम्बर भएकाले तुरुन्त सम्पर्क गर्न आग्रह समेत गरे ।
त्यस्तै यातायात व्यवसायी टंकप्रसाद दवाडीले राज्यको नीति नै भेदभावपूर्ण रहेको आरोप लगाए । उनले परिचय पत्रका आधारमा यात्रुलाई छुट दिए पनि निजी लगानीमा सञ्चालनमा आएका यातायात व्यवसायीलाई भने राज्यले कुनै सुविधा नदिएको बताए । उनले भने– ‘राज्यले तोकेको कानून पालना गर्न व्यवसायी तयार छौं तर निजी लगानी नै धरासायी बनाएर कानूनको पालना गर्नुपर्छ भन्ने छैन ।’ उनले यातायात व्यवसाय अझै अपाङ्गमैत्री बन्न नसकेको स्वीकार गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकालाई यातायातमा छुट दिए वापत राज्यले व्यवसायीलाई करमा छुट दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै यातायात व्यवसायी खड्गप्रसाद दाहालले यातायात व्यवसायीको विषयमा सरकारले ग्यारेन्टी लिनपर्ने बताएका छन् । उनले आफ्नो व्यवसाय नै धरापमा पारेर कसैलाई छुट दिन नसक्ने उल्लेख गरे ।
यातायातका क्षेत्रमा व्यवसायलाई सुरक्षित हुने वातावरण सृजना गर्न सरकार तयार हुनुपर्ने भन्दै सरकारले तोकेको कानूनको पालना गर्न आफूहरु पनि तयार गरेको धारणा राखे । यातायात क्षेत्रमा स्पष्ट कानूनको व्यवस्था नहुँदा यातायात व्यवसाय धरासायी बन्न पुगेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै यातायात व्यवसायी राजीव घिमिरेले यातायातको क्षेत्रलाई पारदर्शी बनाउन सुझाव दिए । प्रदेश सरकारले कानून निर्माण गर्न यातायात क्षेत्रका विज्ञहरुसँगको परामर्श आवश्यक भएको भन्दै हचुवाका भरमा लागू गरिएका कानून कार्यान्वयन हुनै नसक्ने बताए । उनले व्यवसायीहरु कानूनको पालना गर्न तयार रहे पनि आफ्नो व्यवसायको सुरक्षाको ग्यारेन्टी हुन नसकेकाले पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको बताए । व्यवसायी कुलप्रसाद ओडारीले जेष्ठ नागरिकलाई व्यवसायीहरु सरकारले तोके बमोजिम छुट दिन तयार रहेको बताए । उनले सरकारले कानूनको कार्यान्वयनको विषयमा व्यवसायीहरुसँग परामर्श गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अपाङ्ग नागरिकको तर्फबाट बोल्दै धर्मराज घिमिरेले यातायात व्यवसायीले अपाङ्गलाई यातायातमा सवार नगराउने गरेको दुखेसो पोखेका थिए । उनले कतै यात्रामा निस्कनु परेमा अत्यन्तै दुःख भोग्नु परेको र अभद्र व्यवहारको सामना गर्नुपर्ने बताए । उनले अपाङ्ग व्यक्तिलाई यातायातमा सेवा दिएमा राज्यले करमा विशेष छुट दिने व्यवस्था गरे व्यवसायीहरुले राम्रो गर्न सक्ने धारणा व्यक्त गर्दै मन्त्रालयको ध्यानार्कषण गराएका थिए ।
त्यस्तै दमक नगर बाल सञ्जालका अध्यक्ष प्रजेश खनालले विद्यार्थी तथा बालकालिकालाई यातायातको क्षेत्रमा हेयको दृष्टिकोणले हेर्ने गरिएको भन्दै यो विषयमा गम्भीर बन्न आग्रह गरे । उनले बिद्यार्थीले सार्वजनिक यातायातमा सवार गर्दा चालक तथा सहचालकले अभ्रद्र व्यवहार गर्ने गरेको भन्दै व्यवसायीहरुले व्यवहारमा सुधार गर्नुपर्नेमा आफ्ना कर्मचारीलाई सजग बनाउन आग्रह गरेका थिए ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा शाखाका प्रमुख सूर्य सुवेदी, स्वास्थ्य शाखा प्रमुख आस्था थापा लगायतले सेवा सुविधाको विषयमा कानूनी व्यवस्थाको विषयमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई) ले ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालकालिकाको सम्बन्धमा स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताइन् ।
कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयकी अधिकृत पुष्पलता उप्रेतीले गरेकी थिइन् । सार्वजनिक यातायातको विषयमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराए पनि सार्वजनिक सरोकार राख्ने विषयमा उनीहरुले बेवास्ता गरेको पाइएको छ ।


