Aamsanchar

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित दुई पक्राउ

Author Image
बिहिवार, वैशाख १२, २०७६

पार्थ मण्डल
भद्रपुर । नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ ।
गृह मन्त्रालयले जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुका छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन शुरु गरेसँगै कचनकवल गाउँपालिका–२ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपालसँग सोधपुछ गर्दा उनले स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएका थिए ।

भारतीय परिचयपत्र देखाए लगत्तै प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भूपालसहित बमहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ३५ बर्षीय भूपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला हो ।

उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ । नियन्त्रणमा लिएका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए । प्रहरी अनुसन्धानको क्रममा भूपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेका छन् । दुवै जनालाई किर्ते कागजात र नागरिकता ऐन सम्बन्धी मुद्दा लाग्ने डीएसपी श्रेष्ठले बताए ।

यस्तो छ जनप्रतिनिधि र स्थानीयले
हस्ताक्षर गरेको सर्जमिनपत्र
लिखितम सर्जमिन मुचुल्का हामी तपशिलका व्यक्तिहरु आगे जिल्ला झापा कचनकवल गापा वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको माग निवेदन अनुसार मेरो छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गापा वडा नम्बर २मा जन्म भएको हो र हालसम्म मेरो छोराको जन्म दर्ता नभएकोले जन्मदर्ता गरिदिन हुन भने अनुसार र वडा कार्यालयको तोक आदेश अनुसार सरजमिनका लागि खटी आएका कर्मचारीले सम्बन्धित स्थानमा गई मानिसहरुको भेला गरी उक्त निवेदन पढीबाची सुनाई यसमा सही सत्य कुरा के हो ? भूपाल गुरुङ कसको छोरा हो ? र उसको जन्म कहिले र कहाँ भएको हो ? पछि सम्म फरक नपर्ने गरी बताई दिनुहोस्भन्दा सर्जमिनका लागि भेला भएका स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको भनाइ यसप्रकार छ ।

निवेदकको निवदेनको व्यहोरा सुन्दा हाम्रो चित्त बुझ्दो यस सही सत्य कुरा के हो भने सनबहादुर गुरुङको नाति बमबहादुर र चन्द्रकला गुरुङको छोरा भूपाल गुरुङको जन्म यस साविक पथरिया–९ हाल कचनकवल गापा वडा नम्बर २मा भएको हो । घर आर्थिक अवस्था पनि अतिकमजोर र शिक्षाको कमीले गर्दा छोराको जन्म दर्ता समेत नगरेको र छोरा करिब १०÷१२ बर्षको हुँदा साथीहरुको लहैलहैमा लागि घर छाडी हिँड्ेको र हाल घरमा आएको हुँदा अहिले मात्र जन्म दर्ता गर्नुपर्ने रहेछ भन्ने थाहा पाएर वडा कार्यालयमा निवेदन दिएको हँुदा वडा कार्यालयले निजको जन्म दर्ता गरी दिए फरक पर्ने छैन, फरक परेमा कानून अनुसार सहँुला बुझाउँला भनी सही छाप गरी दिने हामी तपशिलका व्यक्तिहरु ।

कचनकवल–२बस्ने कविदास गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उलल्ेख छ । सो पत्रमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षरसहित छाप लगाइएको छ ।

६ दिनअघि मात्रै बनाइयो
भूपालको जन्मदर्ता
भारत आसामका भूपाल गुरुङ झापा कचनकवल–२ निवासी भन्दै वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्र बनाइदिएको छ ।
बमहादुर र चन्द्रकला बुबाआमा र बाजे सनबहादुर गुरुङ भएको उनले बनाएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख छ । जन्म दर्तामा उनको जन्म वि.सं. २०४० साल माघ ७ गते राखिएको छ । कचनकवल वडा नम्बर २ वडा कार्यालयले उनको जन्मदर्ताको प्रमाणत्र २०७६ साल बैशाख ६ गते बनाइदिएको र प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारी हरिप्रसाद गौतमले हस्ताक्षर गरेको देखिन्छ ।

यस्तो छ बंशज
नाताको सर्जमिन मुचुल्का
नागरिकताको स्थलगत मुचुल्का ढाँचा अनुसार बमबहादुर र चन्द्रकलाले छोरा भूपाल भन्दै बंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ ।
मुचुल्कामा स्थानीयबासी कचनकवल २ बस्ने कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालले नागरिकता नम्बर राखेर सही छाप गरेका छन् । उनीहरुले सही छाप गरेको मुचुल्काको रोहवरमा वडा सदस्य धनबहादुर गुरुङ बसेका छन् । वडा अध्यक्ष मेखबहादुर भट्टराईले हस्ताक्षर गरेको मुचुल्का पत्रलाई कानूनी मान्यता दिन वडा सचिव हरिप्रसाद गौतमको सही छाप लागेको पत्रमा उल्लेख छ ।

थाहा ह“ुदाह“ुदै गम्भिर
त्रुटी भयो ः वडाध्यक्ष
प्रशासन कार्यालय झापाले बमबहादुरसहित भारतीय नागरिक भूपाल गुरुङलाई पक्राउ गरेको बिषयमा वडा अध्यक्ष मेखबहादुर भट्टराईलाई थाह नै थिएन । पक्राउ परेको बिषयमा राखेको जिज्ञासामा वडाध्यक्ष भट्टराईले भने– ‘बमबहादुरको एउटै छोरा भएको मलाई थाह थियो, दुई वटा छोराको बिषयमा आफूलाई थाह थिएन । जन्मदर्ता बनाउनुपर्छ भन्दै आएपछि मात्र दुई वटा छोरा भएको थाह पाएँ ।’ ‘वडा सदस्य धनबहादुर गुरुङको नाता पर्ने भएकोले आफूले पनि वडा सदस्यकै लहै–लहैमा कागजातमा सहीछाप गरिदिएँ– उनले भने । वडा सदस्य गुरुङले स्थलगत रुपमै मुचुल्का उठाएर ल्याएको कागजात देखाएपछि सही छाप त गर्ने प¥यो– वडा अध्यक्ष भट्टराईले थपे । वडा कार्यालयबाट गम्भीर त्रुटी भएको स्वीकार गर्दै उनले भने– ‘यसमा मेरो कुनै गल्ती छैन ।’

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर