Aamsanchar

७० वर्षेका १०० माउ बाख्रा

Author Image
शुक्रवार, वैशाख १३, २०७६

बिर्तामोड

काम गर्ने इच्छा शक्ति भए उमेरले छेक्दैन भन्ने भनाइलाई पूरा गरेका छन् झापाको बाह्रदशी गाउँपालिका–५का भोजबहादुर थापाले । ७० वर्षको उमेरमा पनि तन्नेरी जोशका साथ व्यवसायिक रुपमा बाख्रा पालन गर्नु चानचुने विषय होइन । उमेरले नेटो काटे पनि सामान्यतया कृषि कर्म गर्ने अधिकांश कृषकले घरमा गाईवस्तु पालेकै हुन्छन् ।

तर, ७० वर्षीय थापाले एक माउ–दुई माउ होइन सय माउ बाख्रा पाल्दा छरछिमेकी मात्र नभई सिङ्गो बाह्रदशीबासी चकित छन् । हुन त थापाले पहिलोपटक बाख्रा पालेका होइनन् । तर, व्यवसायिक रुपमा बाख्रा पालेको भने उनले यो पहिलोपटक हो ।
थापाले बिगत दुई वर्षदेखि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । त्यो पनि सबै स्थानीय जातका खसी बाख्रा मात्र । पछिल्लो समय उन्नत जातका खसी बाख्रा पाल्ने लहर चले पनि आफूले भने स्थानीय जातका बाख्राको संरक्षणका लागि व्यवसायिक रुपमा बाख्रापालन शुरु गरेको थापाले बताएका छन् ।

दश माउबाट बाख्रापालन व्यवसाय शुरु गरेका थापाको खोरमा अहिले एक सय माउ बाख्रा छन् । थापा भन्छन्– ‘बाख्रालाई राम्रो स्याहार चाकर पु¥याउन सके वर्षमा तीन पटकसम्म व्याउँछ, त्यो पनि जोर–जोर पाठा ।’

लामो समयदेखि बाख्रा पाल्दै आएका थापा भन्छन्– पाँच–सात वर्ष अघि पनि राजगढ र डाँगीबारी बजारमा खसी बेच्न लाँदा हेर्नेको घुइँचो हुन्थ्यो । यही ज्यानले ६५ केजीसम्मको खसी बेचेको छु, खसी बेच्न जाँदा सबैले थापाको खसी भन्थे, त्यो दिन सम्झिँदा अहिले पनि हर्ष लाग्छ ।’

बाख्रापालन व्यवसायका लागि थापाले झण्डै तीन कठ्ठा क्षेत्रफलमा व्यवस्थित खोर निर्माण गरेका छन् । थापाले पाठापाठीका लागि छुट्टै खोर, माउ बाख्राका लागि छुट्टै र खसीका लागि छुट्टै खोर निर्माण गरेका छन् । थापाको बाख्रा पालन व्यवसायमा उनका छोरा दिनेशको पनि साथ छ । कानून विषयमा बिएल गरेका थापाले बुबाले शुरु गरेको बाख्रापालन व्यवसायलाई साथ दिएका छन् । हुन त दिनेशले पनि गाईपालन व्यवसाय रोजेका छन् । पाथीभरा एग्रो फर्म दर्ता गरेर उनले बिगत सात वर्षदेखि व्यवसायिक रुपमा गाईपालन गरेका छन् भने उनको गोठमा ८० माउभन्दा बढी गाई छन् ।

यता भोजबहादुरले पनि छोराको गाईपालन व्यवसायलाई साथ दिँदै बाख्रापालन व्यवसायलाई व्यवस्थित गरेका छन् । दुई वर्ष अघि श्रीमती रोमकुमारीले लोकल बाख्रा पाल्न मन गरिन्– थापाले भने – ‘छोरो पनि गाई पाल्छ भने म पनि बाख्रा पाल्छु भन्दै यो व्यवसाय शुरु गरेको हुँ ।’
छोराले गाई पाल्न थालेपछि धेरैले दिनेश बिग्रियो भन्थे– थापा भन्छन्– ‘त्यत्रो पढेर गोबर सोर्ने, हली गोठालो गर्ने भन्नेहरु आज दिनेशले थालेको व्यवसाय सिकाइ माग्न आएको देख्दा छोराको कामप्रति गर्ब लाग्छ  ।’

छोराले व्यवसायिक गाईपालन शुरु गरेपछि बाख्रा पाल्न सजिलो भएको थापाको भनाइ छ । उनी भन्छन्– बाख्रालाई चाहिने डाले घाँस प्रशस्त छ, १२ विगाहमा छोराले गाईका लागि घाँस लगाएको छ, त्यही घाँस बाख्रालाई खाई नखाई हुन्छ । थापाले व्यवसायिक रुपमा पालेका खसी स्थानीय व्यापारीले घरबाटै लाने गरेका छन् । खसी बढ्न नै पाउँदैनन्– थापा भन्छन्– ‘बोको खसी पार्नासाथ व्यापारी यहीं आएर यो चाहिँ मेरो है भन्दै रोज्छन्, बेच्न समस्या छैन ।’

त्यसो त पछिल्लो समय झापामा व्यवसायिक बाख्रा पालन बिस्तारै फस्टाउँदै गएको छ । सहारा नेपाल साकोसको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकामा कृषकले व्यवसायिक बाख्रापालन गर्दै आएका छन् भने हल्दिवारी गाउँपालिकाको गोलधापका एक युवाले पनि उन्नत जातका बाख्रा पाल्दै आएका छन् । हल्दिबारी गाउँपालिका–१ का गणेश पराजुलीले वोयर जातका बाख्रा पालेर मासिक लाखौं रुपैयाँ कमाई गरिरहेका छन् । पराजुलीले ३६ औँ विश्व खाद्य दिवसको अवसर पारेर वि.सं. २०७३ कात्तिक ९ गते प्रगति वोयर बाख्रा पालन व्यवसाय विधिवत् रुपमा शुरु गरे । उनले साउथ अफ्रिकन वोयर जातका बाख्राबाट पाठापाठी उत्पादन गर्दै विक्री बितरण गर्छन् ।
यता अर्जुनधारा नगरपालिका–९का कमल कडरियाले पनि अहिले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । पूर्वाञ्चल दैनिकबाट

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर