Aamsanchar

सुन विक्रीमा पनि सिण्डिकेट !

Author Image
सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीले सुन बिक्रीमा पनि सिण्डिकेट रहेको बताएका छन् ।

सरकारले व्यवसायीले चाहे अनुसार सुन दिन नसकेको भन्दै उनीहरुले सुन बिक्रीमा लागेको सिण्डिकेट खारेज गर्न माग गरेका हुन् । सुनचाँदी व्यवसायी संघ झापा र बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी सचेतना कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायी खेमप्रसाद प्रसाईंले सिण्डिकेटका कारण सेवाग्राहीले मागे अनुसारको सुन आफूहरुले दिन नसकेको बताए ।

उनले भने– ‘व्यवसायीले सुन किन्न शाखाको सिफारिस, जिल्लाको सिफारिस हुँदै केन्द्रको सिफारिस लिएर जाँदा मात्र बैंकबाट सुन पाइन्छ, त्यो पनि एक केजी मात्र ।’ उनीमात्र होइन, अधिकांश सुनचाँदी व्यवसायीले आफूले चाहे अनुसार सुन किन्न नपाएको र सुनचाँदी व्यवसाय सञ्चालन गर्ने वातावरण राज्यले सिर्जना गर्न नसकेको आरोप लगाए ।
झापामा मासिक १५देखि २० केजी सुन आवश्यक रहेको बताउँदै सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रुपदल विश्वकर्मा राजुले अहिले चारदेखि छ केजी मात्र सुन व्यवसायीले पाएको बताए । उनले भने– ‘हामी सुनचाँदी व्यवसायी दर्ता भएर राज्यलाई कर तिर्न तयार छौं, तर राज्य हामीलाई सुन दिन तयार छैन ।’ सुन किन्न गए राज्यले एक केजीभन्दा तल सुन दिने, चाँदी किन्न गए २० केजीभन्दामाथि किन्नुपर्ने बाध्यता रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुनचाँदी व्यवसायीका लागि आन्तरिक राजश्व कार्यालय भद्रपुरको समन्वयमा बिर्तामोडमा सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख बोलराज आचार्यले सुनचाँदी व्यवसायी भ्याटमा दर्ता गर्नु नपर्ने भन्दै स्थायी लेखा नम्बर लिएर व्यवसाय सञ्चालन गर्न सुझाव दिएका थिए । उनले मेचीमा छ सय आठ सुनचाँदी व्यवसायी विधिवत दर्ता भएर कारोबार गरिरहेको बताए । आर्थिक वर्ष ०७३÷०७४मा ५० हजारमाथि कर तिर्ने तीन जना करदाता रहेको र ०७४÷०७५ मा नौ जनाले मात्रै ५० हजारभन्दामाथि कर तिरेको उनले जानकारी दिए । पूर्वका चार जिल्लामा ५४ हजार सात सय करदाता रहेको र माईपश्चिम दमकमा रहेको कर कार्यालयले करदाताको विवरण राख्ने उनले बताए ।

कार्यक्रममा सहभागीमध्ये बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायी र आन्तरिक राजश्व कार्यालयबीच सुमधुर सम्बन्ध हुन आवश्यक रहेको बताएका थिए । विधि र प्रक्रिया पुर्याएर सम्पूर्ण व्यवसायी कर तिर्न तयार छन् तर, करका विषयमा राज्यले व्यवसायीलाई सिकाउन आवश्यक रहेको उनको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले राज्यले व्यवसायीलाई करको विषयमा जानकारी गराउँदै सहज रुपमा कर तिर्ने वातावरण सिर्जना गरे जोकोही व्यवसायीले कर तिर्न नहिच्किचाउने बताए । उनले भने– ‘अझै पनि कतिपय व्यवसायीले अज्ञानताका कारण कर तिरिरहेका छैनन् ।’

कार्यक्रममा संघका उपाध्यक्ष राजु न्यौपाने, सदस्य उर्मिला खरेल बिमली, राधिका चुडाल हुमागाईं, कृष्ण उदास भरत, बिनोद खाती, मानबहादुर विश्वकर्मा, टीकाराम बराल, तुलसी विमली, राजेश सोनी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर