Aamsanchar

प्रदेश १ : स्थायी राजधानीका लागि चार सहर प्रस्ताव, नामको टुंगो छैन

Author Image
सोमवार, वैशाख २३, २०७६

विराटनगर,

प्रदेश १ को प्रदेशसभामा राजधानी र नामको विषय प्रस्ताव गर्ने समयावधि आइतबार सकिएको छ। यो अवधिमा चार वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएको प्रदेश १ को संसद सचिवालयले जनाएको छ।

नामको विषयमा भने कुनै पनि दलले प्रस्ताव नै नहालेको सचिवालयले जनाएको छ। साँझ पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दिएको जानकारीअनुसार दर्ता भएका प्रस्तावमध्ये २ वटामा धनकुटा प्रस्ताव गरिएको छ भने नेकपा संसदीय दलको तर्फबाट भने विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरिएको छ।

यस्तै नेपाली कांग्रेसले पनि विराटनगर नै राजधानी हुनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएको छ। प्रदेशसभामा दुई तिहाइ मत रहेको नेकपाले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावको कैफियतमा कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचना बृहत विराट क्षेत्र अन्तरर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ भन्ने उल्लेख छ।

उक्त प्रस्तावको प्रस्तावक बुद्धिकुमार राजभण्डारी र समर्थकमा लिलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा, यशोदा अधिकारी र सावित्रीकुमारी रेग्मी रहेका छन्। यस्तै धनकुटा राजधानीको प्रस्तावक लिला सुब्बा रहेको प्रस्तावमा प्रताप प्रकाश हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक रहेका छन। यस्तै निरन राई प्रस्तावक रहेको धनकुटालाई राजधानी बनाउने प्रस्तावको समर्थक इन्द्रमणी पराजुली, कुशुमकुमारी श्रेष्ठ, बिनादेवी राई रहेका छन्।

यस्तै विराटनगर महानगरपालिका भित्रै राजधानी हुनुपर्छ भन्ने प्रस्तवाका प्रस्तावक केदार कार्की रहेका छन् भने  समर्थकमा शिवनारायण गनगाई र जयराम यादव रहेका सचिव पराजुलीले जानकारी दिए। धनकुटा राजधानी बनाउनु पर्छ भन्दै प्रस्ताव पेश गर्ने निरन राई नेकपाका सांसद हुन् भने धनकुटालाई नै राजधानी माग गर्दै अर्को प्रस्ताव पेश गर्ने लिला सुब्बा नेपाली कांग्रेसकी सांसद हुन्।

विराटनगर राजधानी बनाउने र प्रशासनिक संरचना इटहरी, सुन्दरहरैंचा आसपास राख्ने प्रस्ताव नेकपा संसदीय दलको आधिकारिक प्रस्ताव हो भने विराटनगर माहानगरपालिकामा नै राजधानी तोकिनुपर्छ भन्ने प्रस्ताव नेपाली कांग्रेसको रहेको छ।

दलहरूमा विवाद

प्रदेश १ को राजधानी विराटनगर प्रस्ताव गरेसँगै नेकपामा विवाद देखिएको छ। नेकपाका कतिपय सांसदले राधजानी धनकुटा प्रस्ताव गर्दै संसदमा प्रस्ताव पेश गरेपछि नेकपाभित्रै विवाद देखिएको हो।

यता, नेपाली कांग्रेसमा पनि विराटनगर राजधानी बनाउनु पर्छ भन्ने प्रस्तावमा विवाद देखिएको छ। नेकपा संसदीय दलको आधिकारिक प्रस्तावको रूपमा विराटनगरलाई राजधानी बनाउने र कैफियतमा उल्लेख गरेर विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा कार्यपालिका व्यष्वस्थापिका लगायतका अन्य संरचना रहने प्रस्ताव दर्ता भएको छ।

सो प्रस्ताव दर्ता हुँदै गर्दा नेकपाकै सांसद निरन राईको प्रस्ताव र इन्द्रमणि पराजुली तथा कुशुमकुमारी श्रेष्ठ समर्थक रहँदै धनकुटा माग गरेको अर्को प्रस्ताव पनि संसदमा दर्ता भएको छ। यता नेपाली कांग्रेसले दलको तर्फबाट विराटनगर राजधानी बनाउनु पर्ने प्रस्ताव दर्ता गराउँदै गर्दा कांग्रेसकै सांसद प्रकाशप्रताप हाङ्माङले धनकुटा राजधानी बनाउनु पर्ने प्रस्तावमा समर्थन जनाएका छन्।

संघीय समाजवादी फोरम नेपाल दलका नेता जयराम यादवले विराटनगर राजधानी बनाउनु पर्ने कांग्रेसको प्रस्तावमा समर्थन गर्दै गर्दा सोही पार्टीका लिला सुब्बाले धनकुटा राजधानी बनाउनु पर्ने प्रस्ताव गरेका छन।-थाहाखबरबाट

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर