Aamsanchar

सडकमा सुते, ऐन कार्यान्वयनको माग लागि चिया श्रमिक

Author Image
मङ्गलवार, वैशाख २४, २०७६

बिर्तामोड । सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरू चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् ।

सरकारले ऐन लागू गरे पनि चिया उद्योगीले कार्यान्वयन नगरेको विरोधमा अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको चिया श्रमिकको भनाई छ । चिया बगान तथा कारखानामा काम बन्द गरी श्रमिकहरू मङ्गलवार ३८ दिनसम्म आन्दोलित बनेका हुन् ।

आन्दोलन थालेको ३८ दिनसम्म पनि माग पूरा नभएकोप्रति श्रमिक निकै आक्रोशित देखिन्छन् । उनीहरूले ऐन कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीलाई कानुनी कारबाहीको माग समेत गरेका छन् । ‘हाम्रा श्रमिकहरू आन्दोलनका कारण भोकभोकै मर्न लागिसके । तर, उद्योगीहरूले अझै पनि हाम्रा कुराहरू सुनेका छैनन्’ अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले भने,‘हामी भोकभोकै मर्न तयार छौँ । तर, कानुनले तोकेको ज्याला र सेवासुविधा लिएरै छाड्छौँ ।’ उनले तत्काल आफूहरूको माग पूरा गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया श्रमिकको मागप्रति उद्योगी र सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले भने,‘ ऐन कार्यान्वयनका लागि आन्दोलनको विकल्प भएन । आन्दोलनका कारण श्रमिकको घरमा चुल्हो बल्न छोडिसक्यो । तरपनि सरकार र उद्योगी हाम्रो मागप्रति जिम्मेवार देखिँदैनन् ।’ श्रमिकको माग तत्काल पुरा नभए आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यत्रमहरु अघि बढाउने उनले बताए । जिल्लामा करिब ३० हजार श्रमिक कार्यरत छन् ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर