बिर्तामोड।
जापानका एक दम्पतीले झापाको बिर्तामोड–६ स्थित सरस्वती मावि मा निर्माण गरिदिएको आठ कोठे ‘हिरोता ड्रिम भवन’ हिजो आयोजित एक कार्यकमका बीच हस्तान्तरण गरेका छन् ।
हस्तान्तरणसंगै हिरोता दम्पत्तीले बिद्यार्थी बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचर समेत उपलब्ध गराएका छन् ।एक करोड रुपैयाँको लागतमा तोशिरो र हात्च्यूए हिरोता दम्पत्तीले दुई तले विद्यालय भवन निर्माण गरिदिएका हुन् ।
भूकम्प प्रतिरोधात्मक भवनको हिरोता दम्पत्तीले नै रिवन काटेर उद्घाटन गरेका थिए । उनीहरुले भवन उद्घाटनसंगै विद्यालय नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । भवन उद्घाटन कार्यक्रमकमा जापान टिम अफ ह्युमनका प्रतिनिधि, प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल, कोषाध्यक्ष तारा खनाल, सदस्य सन्तोष पोखरेल र प्रतिमा रिजाल खनालको सहभागिता रहेको थियो । सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वाको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक दीपक लुइँटेलले विद्यालयको शैक्षिक र भौतिक गतिविधिका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष खनाल, बिर्तामोड नगर शिक्षा अधिकृत युवराज पाण्डे, समाजसेवी रामकुमार कन्दङ्वा, लगायतले बोलेका थिए ।
भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा जापान टिम अफ ह्युमनमार्फत हिरोता दम्पत्तीले विद्यालयको भवन निर्माण गरेको प्रतिष्ठानका सदस्य डा। राजीव खनालले जानकारी दिए । प्रतिष्ठानकै समन्वय र जापान टिम अफ ह्युमनमार्फत यस अघि झापाका १३ विद्यालयको भवन निर्माण गरिएको छ भने विभिन्न विद्यालयलाई खानेपानी ट्याङ्की र शौचालय समेत निर्माण गरिएको डा.खनालले बताए ।