Aamsanchar

कचनकवलको काँचुली फेर्ने गुरुयोजना

Author Image
बिहिवार, जेठ २, २०७६

झापा,

 सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षक स्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान कचनकवल प्राय सुनसान जस्तै देखिन्छ । झापाको दक्षिणी कचनकवल गाउँपालिका–४ मा साढे चार बिघा क्षेत्रफलमा फैलिएको सो क्षेक्रमा २०४४ सालमा गाडिएको अग्लो कङ्क्रिटको स्तम्भ र सानो हवाई घरबाहेक कुनै पनि आकर्षणका पूर्वाधार निर्माण भएका छैनन् । जाने सडक पनि कच्ची र वर्षात्मा हिलो हुने खालको छ ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा अवस्थित ‘कचनकवल’लाई गाउँपालिकाले मुलुककै उत्कृष्ट गन्तव्य बनाउन जुटेक छन् । यसका लागि ‘कचनकवल स्तम्भ तथा झिल व्यवस्थापन गुरुयोजना’ अनुमोदन गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउनुहुन्छ । उक्त गुरुयोजना निर्माणका लागि झण्डै २० करोड  रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

गुरुयोजनाबमोजिम काम सुरु गर्नका लागि प्रदेश नम्बर १ सरकारले चालू आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर पठाएको र गाउँपालिकाले पनि १४ लाख छुट्याएको अध्यक्ष आलमले जानकारी दिनुभयो ।

‘तपाईँ एक वर्षपछि यहाँ आउनुहोस्, कचनकवलले काँचुली फेरिसकेको हुनेछ’, अध्यक्ष आलम भन्नुहुन्छ, ‘अहिलेको मूल स्तम्भ बिगार्दैनौँ तर यहाँको वातावरण पूरै नयाँ र प्राकृतिक बनाउँछौँ ।’

नेपालकै होचो स्थान भएका कारण कचनकवलको ठूलो महत्व छँदैछ, त्यसमाथि यस स्थानबाट संसारकै अग्लो चुचुरो सगरमाथा छर्लङ्ग हेर्न पाइनु अर्को आकर्षणको विषय भएको छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन पनि गर्न सकिन्छ । गाउँपालिकाले पारित गरेको गुरुयोजनामा कचनकवलको दुई हजार २०० वर्गमिटर क्षेत्रफललाई तलाउहरुले घेरेर सुन्दर पार्क बनाउने उल्लेख छ ।

हाल नजिकै रहेको केचनाबजारदेखि स्तम्भसम्म पुग्न दुई हजार २०० मिटर कच्ची मोटर बाटो छ । गुरुयोजनामा केचना बजारबाट डुङ्गा चढेर स्तम्भ अवलोकन गर्न जाने सकिने गरी तलाउहरु निर्माण गरिने उल्लेख छ । केचनाबजारका चार वटा तलाउलाई जोड्ने र स्तम्भ रहेको जग्गामा नयाँ तलाउ निर्माण गरेपछि लामो दूरीसम्म डुङ्गा चलाउन सम्भव हुने गाउँपालिकाका इञ्जिनीयर अमित ढुङ्गाना बताउनुहुन्छ ।

तलाउभित्र स्तम्भ राख्ने र स्तम्भको आधारशिलाका रुपमा २० फिट लामो माछाको आकृति राखिने गुरुयोजनामा उल्लेख छ । माछाको आँखाको भागमा स्तम्भ ठडिएको हुनेगरी गुरुयोजना डिजाइन गरिएको छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको कचनकवलमा पर्यटकीय प्रवर्द्धनका लागि आदिवासी जातिको होमस्टे निर्माणका लागिसमेत गुरुयोजनामा बजेट छुट्याइएको छ ।

स्तम्भ रहेको क्षेत्रमा व्यवस्थित खाजाघर, नौकाविहार र शौचालयको सुविधा उपलब्ध गराइए पनि आवासका लागि भने स्तम्भबाहिरको घरबास र होटलमा जानुपर्ने नियम बनाइने गाउँपालिकाका सूचना अधिकारी केशव मैनाली बताउनुहुन्छ ।

आगामी पाँच वर्षभित्र गुरुयोजनाबमोजिमको संरचना सबै तयार भइसकेर पर्यटकीयस्थल सञ्चालनमा आइसक्ने उहाँले बताउनुभयो । गाउँपालिकाले कचनकबलको पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ । भद्रपुर विमानस्थलबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान कालोपत्र सडक निर्माण अन्तिम चरणमा पुगिसकेको छ । दुई तिहाइ सडकमा कालोपत्र भइसकेको छ भने अरू भागमा धमाधम काम भइरहेको छ । विगतमा यातायातको असुविधाका कारणसमेत पर्यटकहरु कचनकबल जान रुचाउँदैन थिए ।

प्रदेश नं १ सांसद वसन्त बानियाँले ‘मुलुककै होचो’ भूमिको प्रचार धेरै भए पनि पर्यटकीय आकर्षणका लागि अहिलेसम्म उल्लेख्य पूर्वाधार नबनाइएको हुँदा ‘कचनकवल’को विकासका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ । उहाँले प्रदेश नं १ को मुख्य लक्ष्य नै कृषि र पर्यटनको संवर्द्धन, प्रवर्द्धन गर्ने भएको हुँदा कचनकवलको एकीकृत विकासका लागि चालू आवमा प्रदेश सरकारबाट ५० लाख रुपैयाँ  विनियोजन भएको बताउनुभयो ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देन स्थायी पर्यटकीयस्थलका रुपमा पहिचान पाइसकेको हुँदा तीन तहकै सरकारबाट कचनकवलले बजेट पाउने र केही वर्षमै यहाँ पर्यटकको ओइरो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर