काठमाडौँ।

भोजपुरमा दुईवर्षको सन्तानलाई ‘रोएर दुःख दिएको निहुँ’ मा आमाले धारिलो हतियार प्रयोग गरी गर्धन छिनाएको घटनाले धेरैलाई स्तब्ध बनाएको छ ।

जिल्ला सदरमुकाम भोजपुर बजार पानीट्याङ्की बस्दै आएकी २५ वर्षीय सम्झना थापाले छोरा सम्बोधनको मङ्गलबार बिहान त्रूmर ढङ्गले हत्या गरेको प्रहरीसँंगको वयानमा स्वीकारेकी हुन् । दुःख गरी जन्माएको र हुर्काएको सन्तानलाई यति निर्ममढङ्गले हत्या गर्नुमा डिप्रेसन (मानसिक रोग) मुख्य समस्या देखिएको छ । आफन्तहरूका अनुसार, अभियुक्त सम्झनालाई डिप्रेसन भएको थियो ।
ललितपुरको गोदामचौर इँटाभट्टामा मजदुरी गर्दै आएका ४२ वर्षीय जयबहादुर वाइवा गत वैशाख १० गते ४१ वर्षीय श्रीमती मनमायाको गर्धन छिनाएर टाउको बोकेर सडकमा हिँडिरहेको अवस्थामा भेटिए । ‘बारम्बार किचकिच, आज त टाउको छिनाए’ भनेर बर्बराउँदै हिँडिरहेका वाइवालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । यस्ता त्रूmर हत्या हुनुमा ‘डिप्रेसन’ प्रमुख समस्याको रूपमा देखिएको छ ।

त्यस्तै, पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा जेठ ७ गते राति ७५ वर्षीय बमबहादुर फियाक र उहाँका ज्वाइँ धनराज शेर्माको परिवारका नौ सदस्यहरूको बीभत्स हत्या घटनाले सबैलाई स्तब्ध बनाइ दियो । हत्याका मुख्य आरोपित बमबहादुरको कान्छो ज्वाइँ मानबहादुर माखिमको आत्महत्याले घटनालाई थप रहस्यमय बनाएको छ । औषधि किन्न बजार हिँडेका मानबहादुर भोलिपल्ट मृत भेटिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, ससुरा बम बहादुर र ज्वाइँ धनराजको परिवारको हत्यामा मानबहादुरको संलग्नता देखिन्छ । अनुसन्धानमा संलग्न ब्यूरो प्रहरी उपरीक्षक उमाराज चतुर्वेदीले मानबहादुरमा पारिवारिक समस्याका अतिरिक्त ‘मानसिक समस्या’ देखिएको बताउनुभयो । ‘डिप्रेसनको औषधि खान थालेको दुईवर्ष बितिसकेको रहेछ’ उहाँले भन्नुभयो, ‘मानबहादुरको खल्तीबाट औषधि किन्न आफन्तबाट मागेको चारहजार ५० रुपियाँ बरामद भएको छ ।’
ललितपुरको ढोलाहिटीमा पनि गत वैशाख २६ गते यस्तै प्रकृतिको अपराध भएको छ । म्युजिक एरेन्जर उज्ज्वल महतले भाइबुहारी अञ्जनाको बीभत्स ढङ्गले हत्या गरेको स्वीकार गरेका छन् । अञ्जनाको हत्यामा पारिवारिक कारण देखिए पनि ‘डिप्रेसन’ पनि एउटा कारण हुन सक्ने मनोविज्ञहरू बताउँछन् । उल्लेखित चारवटा अपराधका घटना योजनाबद्ध तथा सुनियोजित ढङ्गले भएका होइनन्, मानसिक अस्पताल पाटनका मनोचिकित्सक अनन्तप्रसाद अधिकारीले भन्नुभयो, ‘पेशेवार अपराधीको उद्देश्य नै अपराध गर्ने र भाग्ने हुन्छ ।’
योजनाबद्ध तथा सुनियोजितढङ्गले गरिने अपराधमा अभियुक्त फरार हुन्छन् तर मानसिक रोगबाट प्रभावितहरूबाट हुने अपराध अभियुक्तले सहजै स्वीकार्छन् वा आत्महत्याको बाटो रोज्छन् । अधिकांश बीभत्स र त्रूmर अपराधमा मानसिक रोगीको संलग्नता हुने गरेको पाइएको छ । कडा खाले मानसिक रोगीहरू सडकमै आउँछन भने ‘डिप्रेसन’ भएकाहरू जघन्य अपराधमा संलग्न हुन्छ । बढी इगो परिवार तथा नातेदारसँग हुने भएकाले दुखद घटना पनि परिवारभित्रै हुने गरेको छ ।
आत्तिने, डराउने, तर्सिने, बर्बराउने, व्यवहारमा दुश्चक्र, निद्रामा समस्या र हिष्टेरिया जस्ता लक्षण देखापर्ने वित्तिकै उपचारका लागि अस्पताल लैजानपर्ने सुझाव चिकित्सकको छ । मनोचिकित्सक अधिकारी यस्ता रोग नियमित औषधि उपचार गर्दा निको हुन्छ भन्नुहुन्छ ।
औषधि खाने र छोड्ने गर्दा भने जटिल बन्दै जान्छ । यस कारण त्रूmर र बीभत्स हत्या घटना दोहोरिन्छन । प्रेम, पारिवारिक, आर्थिक तथा लागूऔषधको कुलतका कारण मानसिक रोगको समस्या देखिएको छ ।
मनोविद् गोपाल ढकाल आत्महत्या पनि मानसिक रोगको एक कारण भएको बताउनुहुन्छ । मानसिक रोगीले जहिले पनि आफूलाई राम्रो, इमानदार मानिसका रूपमा चित्रित गर्छ र त्यसको मुख्य कारण अतिभ्रम हो । यही भ्रममा परी सामान्य पारिवारिक कलहलाई लिएर विरामीले आफन्तमाथि आक्रमण गर्छन् । परिवारका सदस्यहरूले पनि समयमा नै औषधि उपचार नगर्ने र औषधि प्रयोगमा हेलचेक्रयाई गर्दा निर्ममढङ्गको अपराध हुने गरेको भनाइ उहाँको छ ।
विश्वस्वास्थ्य संगठनका अनुसार, २५ देखि ३० लाख नेपालीहरूमा मानसिक रोगको समस्या रहेको देखाएको छ । तीमध्ये तीनलाखमा कडाखाले देखिएको छ । प्रत्येक वर्ष आत्महत्या गर्नेहरू मध्ये करिब पाँचहजारमा डिप्रेसनको समस्या देखिएको छ । मानसिक रोगको मनोवैज्ञानिक, औषधि र विद्युतीय उपकरणबाट उपचार हुने गर्छ ।-देवबहादुर कुँवर/ गोरखापत्र दैनिकबाट

