झापाको बुधबारेमा वातावरण तथा पर्यावरणको क्षेत्रमा महत्वपूर्ण मानिएको एक घोषणा हात्ती आयो हात्ती आयो फुस्सा भने झैं भएको छ ।
वि.स. २०६७ साल चैत १८ गते तामझामका साथ घोषणा गरिएको ‘प्लाष्टिकको झोला मुक्त बुधबारे’ घोषणा बाहेक केही हुन सकेन । अहिले बुधबारेमा प्लाष्टिकको झोला प्रयोग बढिरहेको छ । केही समय नियन्त्रण भए पनि त्यो घोषणा पूर्णरुपमा कार्यान्वय हुन सकेन ।
प्लाष्टिकको झोला मुक्त बुधबारे घोषणा गर्न अतिथिहरु टाढा–टाढाबाट पनि आएका थिए । यहाँका राजनीतिक दल, संघ–संस्था, विद्यालय, मन्दिरका नेतृत्वकर्ताले घोषणामा हस्ताक्षर गरी कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, बोलीमा गरिएका प्रतिबद्धता व्यवहारमा लागू हुन सकेन ।
झापाको बुधबारेलाई ‘प्लाष्टिकको झोला मुक्त क्षेत्र’ घोषणा गरी नयाँ वर्ष २०६८ बैशाख १ गतेबाट लागू गर्ने समझदारी गर्न तामझामका साथ चैत १८ गते कार्यक्रम आयोजना गरिएको थियो । सोही अनुरुप लागू गर्ने घोषणा गरिएको दिनदेखि सो कुरामा कडाई पनि गरियो । तर, फितलो व्यवस्थापन, विकल्पको खोजी नहुँदा, हस्ताक्षर गरी प्रतिबद्धता व्यक्त गरेका व्यक्ति÷ संस्थाहरुले घोषणाकै लागि मात्र हस्ताक्षर गरेपछि विस्तारै–विस्तारै ‘प्लाष्टिकको झोला मुक्त बुधबारे’ मा सहजरुपमा प्लाष्टिकको झोला प्रयोग हुन थाल्यो । सो क्रम अझै जारी छ, हस्ताक्षरकर्ता, नियमनकारी निकाय मौन छन् ।
वातावरण संरक्षण तथा सरसफाई समाज बुधबारेको अगुवाईमा सो कार्यक्रम भएको थियो । बुधबारेमा प्लाष्टिकको झोला मुक्त क्षेत्र घोषणा गरिएपछि घोषणा गर्न अगुवाई गर्ने संस्था विभिन्न ठाउँमा सम्मानित पनि भयो । सम्मान, नगद र जिन्सी सामान विभिन्न संस्थाले प्रदान पनि गरे । त्यसताका सौराहामा घोषणा कर्ता संस्था पुरस्कृत पनि भएको थियो । ३० जिल्लाका प्रतिनिधि सहभागी कार्यक्रममा विदेशी नागरिकको पनि उपस्थिति थियो ।
एनसीडीसी इलाम तथा इलाम नगरपालिकाले पनि घोषणाकर्ता संस्थालाई नगद तथा जिन्सीले पुरस्कृत गरेको थियो । तर, अहिले घोषणा गरिएको प्लाष्टिकको झोला मुक्त बुधबारे छैन, खुलेआम प्रयोग भइरहेको छ । जसले घोषणाकर्ता र घोषणामा आएका अतिथिहरुलाई ‘लज्जा’ बोध भइरहेको छ ।
क–कसले गरेका थिए हस्ताक्षर ?
बुधबारेलाई ‘प्लाष्टिकको झोला मुक्त क्षेत्र’ घोषणापत्रका हस्ताक्षरकर्ताहरुमा तत्कालीन पार्टी तथा संघ–संस्थाका नेतृत्व सम्हालेका व्यक्तिहरु रहेका छन् । सो घोषणामा प्रतिबद्धता जनाउँदै ३४ जनाले हस्ताक्षर गरेका थिए ।
जसमा वातावरण संरक्षण तथा सरसफाई समाज बुधबारेको तर्फबाट धनकुमार थुलुङ, तत्कालीन बुधबारे गाविसको तर्फबाट अग्निप्रसाद घिमिरे, तत्कालीन नेकपा माओवादीको तर्फबाट रविलाल कुँइकेल, कांग्रेसको तर्फबाट रमेशकुमार भुजेल, तत्कालीन एमाले तर्फबाट नेत्रप्रसाद गौतम, माले तर्फबाट महेन्द्र संग्रौला, राप्रपाबाट नारद आचार्य, मञ्च सम्बद्ध संघीय लिम्बुवानबाट काजीमाना योञ्जन, उद्योग वाणिज्य संघ शाखा बुधबारेबाट गोपी न्यौपाने, बजार व्यवस्थापन समिति बुधबारेबाट लक्ष्मण ढुंगाना, रेडक्रस सोसाइटीबाट केशव अधिकारी, बुद्धआदर्श क्याम्पसबाट गणेश निरौला, बुद्धआदर्श उमाविबाट धनबहादुर श्रेष्ठ, आदर्श उमाविबाट नरेन्द्र भट्टराई, त्रिभुवन माविबाट बसन्त तिम्सिना, महानन्द शिक्षा सदनबाट महेन्द्र संग्रौला, ज्योति अंग्रेजी विद्यालयबाट सञ्जीव प्रधान, कर्णाली एजुकेशनबाट छत्र कार्की, सहकारी समन्वय समिति बुधबारेबाट चिन्तन पाठक, उपस्वास्थ्य चौकीबाट भरत खतिवडा, प्रहरी चौकी बुधबारेबाट रामकाजी कटुवाल, महानन्द सभागृहबाट कमल उप्रेती, बुद्धआदर्श उमावि व्यवस्थापन समितिबाट पदम पोखरेल, आदर्श उमावि व्यवस्थापन समितिबाट धु्रव ओली, बुधबारे युवा परिवारबाट मनोरथ तिवारी, राम जानकी मन्दिरबाट लीला भट्टराई, लक्ष्मीनारायण मन्दिरबाट डिल्लीप्रसाद गौतम, तीनतले सामुदायिक वनबाट भीमकुमार नेवार, आदर्श नमुना सामुदायिक वनबाट यानु न्यौपाने, प्रतिभा यात्राबाट लोकराज ढुंगाना, खानेपानी तथा सरसफाई संस्था बुधबारेबाट हरिप्रसाद ओडारी, हनुमान मन्दिरबाट ऋषिकेश गोयल लगायत रहेका छन् ।
सो कार्यक्रमको प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख युवराज दाहाल थिए । रामजानकी मन्दिरमा भएको सो कार्यक्रममा एनसीडीसी इलामका प्रवेश चापागाई र वातावरणविद् कमल राईको आतिथ्य रहेको थियो ।