झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री रोजगार शुभारम्भ कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले नगरपालिकालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पुरा गरी छनौट भएका एक सय ४९ जनालाई चालु आर्थिक वर्ष भित्र एक महिने रोजगार प्रदान गरिएको बताए । रोजगारमा खटिएका दाताले नगरको समग्र विकास निर्माण कार्यमा नगरपालिकाले खटाएको स्थानमा गएर सहयोग पुर्याउने उनको भनाई छ ।
नगरपालिकामा १२४० महिला र ७१७ पुरुष गरी १९५७ जनाले प्रधानमन्त्री रोगजारीका लागि वडा कार्यालयमार्फत दरखास्त आवेदन दिएका थिए । त्यसमध्ये बेरोजगारी भएका १४९ लाई छनौट गरिएको नगरपालिकाले जनाएको छ । छनौट भएका रोजगार दाताले एक दिनको ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउनने अधिकृत श्रेष्ठको भनाई छ ।
रोजगारमा परेका दाताहरूलाई नगरको १० वटा वडामध्येबाट आवश्यक अनुसार कम्तीमा १४/१४ जना छनौट गरिएको प्रधानमन्त्री रोजगार समिति संयोजक टिकाराम पाण्डेले जानकारी दिए । रोजगार दाताहरूले नगरको प्रत्येक वडामा खटाइने छ ।
उनीहरूले वडाको सरसफाइ, सडक निर्माण, तट बन्धन, वृक्षारोपण, विद्यालय भवनको स्तोरन्नतिको काम सहयोग पुर्याउने, सरकारी कार्यालय भवनको रंगरोगन लगायतका सार्वजनिक कार्यहरू गर्ने संयोजक पाण्डेको भनाई छ । रोजगार दाताहरूले जेठ २२ देखि असार २१ गते सम्म यस कार्यक्रममा सहभागिता जनाउनेछ ।