हल्दिबारी बेरोजगार युवालाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हल्दिबारी गाउँपालिकामा ४८० जनाले दर्खास्त बुझाएका छन् ।
दरखास्त दिनेमध्ये ६३ जनालाई रोजगारी दिन सकिने हल्दिबारी गाउँपालिकाका रोजगार संयोजक सपना नेउपानेले जानकारी दिइन् ।
प्रधानमन्त्री रोजगार परियोजना अन्तर्गत पहिलो चरणमा वृक्षारोपण र सामुदायिक विद्यालयमा रंगरोगन गर्ने कार्यमा परिचालित गरिने संयोजक नेउपानेले बताइन् ।
हल्दिबारीमा रोजगार कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ प्राप्त भएको उनको भनाई छ ।
दरखास्त दिएको फारम पुनः वडाकार्यालयमा पठाएपछि वडाको सिफारिसको आधारमा ६३ जनालाई असार पहिलो सातादेखि काममा लगाइने बताइएको छ ।

बेरोजगार युवालाई सय दिन रोजगारी दिने सरकारको योजना रहे पनि चालु आर्थिक वर्षमा ढिलो गरी कार्यक्रम लागु भएकाले असार मसान्तसम्म मात्र काम लगाउन सकिनेछ ।
परियोजना अन्तरगत नयाँ आर्थिक वर्षदेखि छनोट भएका युवालाई दोस्रो चरणको रोजगारी प्रदान गर्ने योजना रहेको रोजगार संयोजक नेउपानेको भनाई छ ।
३० दिनका लागि दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी परियोजनाले बेरोजगार युवालाई काममा लगाउने छ ।
छनोटमा परेका युवाले आवश्यकता अनुसार सडक मर्मत, पर्यटकीय स्थल तथा सार्वजनिक स्थलको सरसफाई लगायतको काम गर्न पाउने बताइएको छ ।


