भद्रपुर (झापा)
प्रधानमन्त्रीको गृह जिल्ला झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ। जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो।
नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले नगरपालिकालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पूरा गरी छनौट भएका १४९ जनालाई चालु आर्थिक वर्षभित्र एक महिने रोजगार प्रदान गरिएको बताए।
रोजगारमा खटिएकाहरुले नगरपालिकाले खटाएको स्थानमा विकास निर्माणका काम गर्नुपर्ने कार्यालयले जनाएको छ। नगरपालिकामा १ हजार २४० महिला र ७१७ पुरुष गरी १९५७ जनाले प्रधानमन्त्री रोगजारीका लागि वडा कार्यालयमार्फत दरखास्त आवेदन दिएका थिए।
तीमध्ये १४९ लाई छनौट गरिएको नगरपालिकाले जनाएको छ। छनौटहरुलाई दिनको ५१७ रुपैयाँका दरले पारिश्रमिक पाउने अधिकृत श्रेष्ठको भनाइ छ। छनौटमा परेकाहरुलाई नगरको १० वडामध्येबाट आवश्यकताअनुसार कम्तीमा १४÷१४ जना छनौट गरिएको प्रधानमन्त्री रोजगार समिति संयोजक टीकाराम पाण्डेले जानकारी दिए।
aउनीहरूले वडाको सरसफाइ, सडक निर्माण, तटबन्धन, वृक्षारोपण, विद्यालय भवनको स्तरोन्नति, सरकारी कार्यालय भवनको रंगरोगनलगायतका काम गर्ने संयोजक पाण्डेले बताए। उनीहरुलाई जेठ २२ देखि असार २१ सम्म यस कार्यक्रममा सहभागी गराइने छ। छनौट भएकाहरुलले मेची पुल जोड्ने सडक बनाएर कार्यक्रमको शुभारम्भ गरेका छन्।