सुनिरा मैनाली,झापा
झापाको शिक्षित नगरी मेचीनगरपालिका- ९ धुलाबारीकी सिवाकोटी थरकी एक महिलाले आफूलाई माता बताउदै विभिन्न महिलालाई बोक्सी घोषषा गर्ने गरेका तथ्य बाहिर आएको छ ।
बिरामीलाई उपचारगर्ने नाममा बोक्सीको आरोप लगाउने गरेको खुलेको हो । आफूलाई स्वघोषित माता बताउने ती ति महिलाले बिरामीलाई बकाउने गरेकी छन् । चक्कु, त्रिशुल, चम्मर बोकर उफ्रिँदै बिरामीलाई बोक्सी को हो भन ? भन्दै भुत्ल्याउने, कराउने, पिट्ने गर्दै आएकी छिन । उनको यस तरिकाले बिरामी बनेर आएकाले छरछिमेकका असहाय, गरीब र बृद्ध महिलालाई फलानो बोक्सी भन्दै बक्ने गरेका छन् ।
बिगत केही वर्षदेखि उपचार गरेका निको भएका भनिएकाबाट बोक्सी आरोपित गर्न लगाउने गरेकी छन् । माताको यस्तो चर्तिकला अहिले विवादमा परेको छ । उनले यस्ता कार्यको बिरोधमा आउनेलाई उनका अन्धभक्तले आक्रमण र दूर्व्यवहार गर्ने गरेका छन् । सिवाकोटीले बोक्सीको आरोप लगाएको विषयमा मंगलबार र बुधबार रिपोर्टिङ गर्न गएका पत्रकारलाई पनि उनका आसेपासेले दूर्व्यवहार गरेका थिए ।पत्रकारलाई क्यामरा, मोवाइल केही चलाउन नदिइ माता पत्रकारमाथि जाइलागेकी थिइन् ।
मेचीनगर ९ की ८१ वर्षीया गंगादेवी बस्नेत र उनकी छोरी शान्ति पौडेललाई कुमारी चम्लागाई र शिव चम्लागाईले बोक्सीको आरोप लगाएका छन् । बिरामी भएर माताकोमा गएपछि माताले बकाउने क्रममा कुमारी चम्लागाईले ८१ वर्षीया बस्नेत भएर बकेपछि उनीहरुलाई बोक्सीको आरोप लगाइएको हो ।बस्नेतले वडा कार्यालय र इलाका प्रहरी कार्यालय धुलाबारीमा कारबाहीका लागि निवेदन दिइसकेकी छिन् ।
निवेदन मंगलबार नै दर्ता भए पनि कारबाही नभएको पीडितको गुनासो छ । बोक्सीको आरोप खेपिरहेकी गंगादेवी बस्नेतलाई ८ वर्ष अघिदेखि नै चम्लागाई परिवारले बोक्सीको आरोप लगाइरहेका थिए । छिमेकी चम्लागाई परिवारले लामो समयदेखि चौतर्फी बोक्सी भन्न थालेपछि आफूलाई गाउँमा बस्न निक्कै अप्ठ्यारो भएको बस्नेतले बताइन् ।मेरोलागि गरि दिने बोलीदिने मान्छे कोही नभएका कारण म आजसम्म चुप लागेर बसे, उनले भनिन् । आज यो उमेरमा यस्तो सुन्दा खप्न नसकेर वडा कार्यालय गएको उनले बताइन् ।
जग्गा विवाद भएपछि बोक्सीको आरोप लगाइएको उनको भनाइ छ । भोलिका दिनमा छोराछोरीको बिहे दान गर्नुपर्छ । बोक्सीको छोरी नातिनी पो रछे भनेर बिहे नहुने पो हो की भन्ने डरले सताएको शान्ति पौडेल बताउँछिन् । उनले भनिन्, परिवारमा सात पुस्तालाई लाग्ने दाग लागेको छ । पटक पटक बोक्सीको आरोप लगाइएको छ । दोषीलाई कारबाही हुनुपर्छ । भोलि यस्तो घटना कतै नदोहोरियोस् ।’मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गंगा खड्काले बोक्सीको आरोप लगाउने पक्षलाई कारबाही गर्नु पर्नेमा मेलमिलाप गराएका छन् । उनले दुई पक्षलाई राखेर मेलमिलाप गराएको स्वीकार गरे ।