सुरुङ्गा ।
कनकाई नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई¬–हाजिरी) लागू भएको छ ।
नगरभित्रका कनकाई मावि, चम्पापुर मावि, पशुपति प्रावि, भगवती आधारभूत विद्यालय, सिंहदेवी आधारभूत विद्यालय, भृकुटी मावि, देवकोटा प्रावि, पञ्चकन्या प्रावि, जनचेतना आधारभूत विद्यालय, सरस्वती मावि, भगवती आधारभूत विद्यालय, जानकी आधारभूत विद्यालय, हिमाली मावि, कनकाई गायत्री प्रावि र आदर्श विद्यामन्दिर मावि गरी १५ वटै सामुदायिक विद्यालयमा ई–हाजिरी मेसिन जडान गरी लागू गरिएको कनकाई नगरपालिकाका सूचना अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए ।
कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय र सरकारी कार्यालयमा सेवा प्रभावकारितालाई अभिवृद्धि गरी जनतालाई सहज र सरल रुपमा सेवासुविधा प्राप्त गर्न ईहाजिरीलाई लागू गरेको हो । ईहाजिरी पद्धतिले शिक्षकहरुको नियमिततामा सुधार हुने, मासिक तथा वार्षिक हाजिर गणनामा सहयोग पुग्ने र पठनपाठनमा सुधार भई समग्र रुपमा गुणस्तरीय शिक्षामा बल पुग्ने सूचना अधिकृत मिश्रले बताए ।
नगरपालिकाले गत सालको जेठदेखि नै ईहाजिरी पद्धति शुरु गरे पनि अब सम्पूर्ण रुपमा यो पद्धति लागू भएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले चुनावताका नगरलाई सूचनाप्रविधिमैत्री बनाउने प्रतिबद्धता गरे अनुरुप विद्युतीय हाजिरीलाई क्रमशः सरकारी र गैरसरकारी संस्थामा लागू गरिएको बताइएको छ । यस अघि नै कनकाई नगरका धेरैजसो निजी तथा संस्थागत विद्यालयहरुले ईहाजिरी लागू गरिसकेका छन् ।
शिक्षकको कार्यसम्पादनको मूल्यांकनमा शुद्धता, कागजविहीन हाजिरी पद्धति र समय गणनामा वैज्ञानिकता विद्युतीय हाजिरीका फाइदाहरु रहेका छन् । विगतको तुलनामा विद्यालयका कर्मचारी, शिक्षक तथा प्रधानाध्यापकहरुमा समयको पालना र व्यवस्थापनमा बढी जागरुकता र नियमिततामा वृद्धि भएको स्वयम् प्रधानाध्यापकहरुकै अनुभव रहेको छ ।