Aamsanchar

अबदेखि श्रीकृष्ण रथयात्रा नगरपालिकाको जिम्मामा

Author Image
शनिवार, असार १४, २०७६

गंगा बराल

भद्रपुर । विगत लामो समयदेखि झापाको भद्रपुरमा प्रदर्शन गरिँदै आएको श्री कृष्ण रथयात्राको व्यवस्थापकीय जिम्मेवारी यस वर्षदेखि भद्रपुर नगरपालिकाले लिएको छ ।
अघिल्लो वर्षसम्म समुदायस्तरमा गठित समितिले समुदायबाटै चन्दा संकलन गरी सञ्चालन गर्दै आएको रथयात्रालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने मनसायले नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिन चाहेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

भद्रपुरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रालाई यस वर्ष अधिकाधिक र सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मूल आयोजक समिति पनि गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षयीय बृहद भेलाले वडा नं १ देखि १० सम्मकै प्रतिनिधित्व रहने गरी देवकुमार घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो । घिमिरे अघिल्लो वर्षको रथयात्रा समितिका पनि अध्यक्ष थिए ।

नगरप्रमुख श्रेष्ठकै अध्यक्षतामा सम्पन्न भेलामा जनप्रतिनिधि, अघिल्लो रथयात्रा समितिका पदाधिकारी, नगरभित्रका विभिन्न मठमन्दिरका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो ।
भेलामा सहभागीहरुले भद्रपुरको गौरव मानिएको श्रीकृष्ण रथयात्रालाई नगरपालिकाले अपनत्व ग्रहण गरेकोमा खुशी दर्शाउँदै रथयात्रालाई भब्य बनाउन सकिने सुझावहरु राखेका थिए ।

नगरप्रमुख प्रमुख संरक्षक रहने समितिमा स्थानीय सुरक्षा निकाय, भद्रपुरमा क्रियाशील संघ संस्थालाई पनि सदस्यको रुपमा चयन गरिएको छ । छलफलमा अधिकांश सहभागीहरुले भद्रपुरमा निर्माणाधीन सडकहरु रथयात्राको चुनौती बन्नसक्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गरेका थिए । भेलामा उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, ५ नै वडाध्यक्ष बन्धु कार्की, ६ नं वडाध्यक्ष प्रेमबहादुर बरुवाललगायतले नगर बाहिरबाटसमेत दर्शनार्थीको आगमन हुन सक्नेगरी रथयात्राको प्रचार प्रसारलाई तीव्र बनाइनुपर्नेमा जोड दिए ।

यसैबीच, पुरानो रथ जीर्ण भइसकेकोले नयाँ रथ ल्याउने तयारीमा नगरपालिका जुटेको बुझिएको छ । रथयात्रा निकाल्ने समय दुई महिनाभन्दा बढी समय भएकोले सकेसम्म नयाँ रथको व्यवस्था गरी यात्रा निकालिने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर