Aamsanchar

बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने

Author Image
सोमवार, असार १६, २०७६

बुद्धशान्ति,

झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु। ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु३० लाख बजेट छुट्याइएको थियो ।

इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल ठूला अस्पताल बनेका छैनन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक मात्र सञ्चालनमा छन् । गाउँपालिकाले वडा नं। १ मा २५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउन दातासँग मिलेर एक विघा जग्गाको व्यवस्था मिलाइसकेको र आगामी वर्षमै निर्माण कार्य सुरु गरिने अध्यक्ष भुजेलले बताउनुभयो ।

छिमेकी मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आउने भएकाले बुद्धशान्तिमा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल अति आवश्यक भइरहेको बुधबारे उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्र चापागाइँ बताउनुहुन्छ । उहाँले ५० शय्याको अस्पताल बनाउन सके बिरामीको चाप धान्ने सुझाव दिनुभएको छ ।

हाल बुद्धशान्तिको वडा नं। ३ र ५ मा स्वास्थ्य चौकी र अन्य वडाहरुमा स्वास्थ्य एकाइहरु छन् । गाउँपालिकाले बजेटबाटै मधुमेह र रक्तचापका बिरामीका लागि औषधि र गर्भवतीका लागि क्याल्सियम चक्की निःशुल्क वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर