सोलुखुम्बु,
नेपालको ‘डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ। आरोही उनीहरूका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाइ मार्ग या पदमार्ग मात्र रहेको छ। त्यसैले सबैभन्दा बढी हवाइमार्ग हुँदै यात्रु र उनीहरूको आवश्यक बन्दोबस्तीका सामाग्री हवाइजहाजमार्फत ल्याउने लैजाने गरिन्छ।
पर्यटकीय सिजनका वेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउँछन्। विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुनेसमयमा यहाँ यात्रुको चाप बढी हुन्छ। सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ।
स्थानीय समेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो। घरको हेरविचार गर्ने एक जना कामदार वा घर धनी बाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए।