Aamsanchar

दुर्घटनाग्रस्त यतिकाे जहाज हटाउन नसक्दा त्रिभुवन विमानस्थल चार घण्टादेखि बन्द

Author Image
शुक्रवार, असार २७, २०७६

काठमाण्डौ,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अबरुद्ध छ । निरन्तर प्रयास गर्दा पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको बताउनुभयो ।

धावन मार्गमा रोकिएको विमानलाई तानेर  ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तानेर लैजाने लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भैरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

विमान धावन मार्ग नजिक धस्सिएकाले अहिलेकै अवस्थामा कुनै पनि उडान गर्न सम्भव छैन । विमान निकाल्न अझै कति समय लाग्ने टुङ्गो छैन । अहिलेको अवस्थामा उडान गर्न सकिने भए पनि सुरक्षा चासोलाई मध्यनजर गरी सेवा पुनः सञ्चालन गर्न नसकिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भैरहेको छ । उपलब्ध सबै संयन्त्र परिचालन गरिएको छ तर पनि सफलता मिलेको छैन । अहिलेकै अवस्थामा उडान गर्न सकिन्छ तर ‘सेफ्टी’ का कारण रोकिएको हो । धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान त गर्नै मिल्दैन, आन्तरिक उडान चाँहि खोल्नेबारे छलफल भैरहेको छ ।’

काठमाण्डौ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको विमानस्थलले जनाएको छ । नेपालगञ्जबाट काठमाण्डौ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ झण्डै १० मिटर  ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु भने सकुशल रहेको विमान कम्पनीले जनाएको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर