भद्रपुर । अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् ।
कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा स्थानीयले बेलुका साढे ५ बजेतिर फेला पारेको थिए ।
त्यस्तै, दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ । दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा खोलामा बगेकी उनलाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल ल्याएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । हिजो अपरान्ह ४ बजेट भद्रपुर नगरपालिका ९ प्रणामी नगरस्थित हडिया खोला तर्ने क्रममा हस्दालाई बाढीले बगाएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन । हस्दाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
झापाका धेरै ठाउँ जलमग्न
अविरल वर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवालगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ ।