Aamsanchar

आज गुरु पूर्णिमा, यस्तो छ महत्व

Author Image
मङ्गलवार, असार ३१, २०७६

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

अर्थात्

हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।

यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।

उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।

सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।

असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।

औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ ।

तर संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।

संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्

अर्थात्

गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।

एकफेर सोचौं न, हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं । तपाई र हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई१ त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।

आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरुपूर्णिमाको शुभकामना !

Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर