Aamsanchar

कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु

Author Image
शनिवार, साउन ४, २०७६

बिर्तामोड।

झापाको बिर्तामोडमा शुक्रबारबाट कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु भएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सेमिनार ५ गतेसम्म सञ्चालन हुने बताइएको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले उक्त नियमको जानकारी गराउन तथा काता र कुमुते जस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताए ।

समर क्याम्पमा ब्राउन बेल्ट थर्ड क्यूदेखि ब्लाकबेल्टसम्मका १५० जना खेलाडीले भाग लिएका छन् । झापामा हाल ५० वटा डोजोमार्फत् ६ हजार हाराहारी खेलाडीले प्रशिक्षण लिइरहेको जनाइएको छ । खेल क्षेत्रमध्ये राम्रो सम्भावना बोकेको करातेको क्षेत्रमा झापाका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै आएको बताइएको छ ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले सेमिनारको उद्घाटन गर्दै खेल क्षेत्रले देशको नाम संसारभर चिनाउन सफल भएको बताइन् । खेलकुदमा लागेका मानिस अनुशासित हुने, स्वस्थ्य बन्ने एवम् आत्मरक्षाका लागि सबल रहने भएकाले खेलकुदको क्षेत्रमा विकास गर्न सकियो भने पक्कै पनि राष्ट्र विकासमा सहयोग पुग्ने उनको भनाई थियो । उनले नगरको तर्फबाट खेल क्षेत्रलाई गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

कार्यक्रमका अध्यक्ष शंकर थापाले करातेमा जिल्ला, प्रदेश एवम् राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न अब्बल खेलाडी उत्पादन गर्न टेक्निकल सेमिनार महत्वपूर्ण हुने बताए । खेलकुद विकास समितिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी हर्कलाल गिरी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले सेमिनार सफलताको शुभकामना व्यक्त गरे । उनीहरुले कराते खेलको विकासका लागि आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा समाजसेवी राजकुमार पोख्रेल, दिपेन्द्र पोख्रेल, नेपाल रेडक्रश सोसाईटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी महोन थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर