Aamsanchar

‘दुई घण्टा लाग्ने काम ३० सेकेन्डमै हुने बनाएका छौँ,  विरोधको उद्देश्य बुझ्न सकिएन’

Author Image
मङ्गलवार, साउन ७, २०७६

देशभित्रै ओसारपसार हुने ठूलो परिमाणको मालवस्तुको अनलाइनबाटै निगरानी गर्न सरकारले मालवस्तु एवं ढुवानी साधनको अनुगमन प्रणाली अर्थात भीसीटीएस प्रणाली सुरु गरेको छ । लागू भएको ५ दिनमै झण्डै ७ हजार गाडीले यो प्रणालीमार्फत सामान ढुवानी गरिसकेका छन् ।

एक ठाउँबाट अर्को ठाउँमा मालवस्तु ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको वेवसाइटमा विवरण पेस गर्नुपर्ने नियम आएपछि सरकारलाई राजश्व छली रोक्न र तथ्यांक राख्न सहज हुनेछ । तर केही व्यवसायीले भने सरकारले हतारमा अप्ठ्यारो प्रणाली लागू गरेको भन्दै विरोध गरिरहेका छन् । भीसीटीएस प्रणालीको बारेमा अर्जुन पोख्रेलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग कुराकानी गर्नुभएको छ ।

भीसीटीएस प्रणाली के हो ?

भीसीटीएस मालवस्तु तथा ढुवानी साधनको  सजिलो अनुगमन प्रणाली हो । यसले वेवमा आधारित प्रणालीमा रहेर मालवस्तु र ढुवानीको संक्षिप्त विवरण दिने गर्दछ ।

भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम अर्थात भीसीटीएस मालवस्तु तथा ढुवानी साधनको सजिलो अनुगमन प्रणाली हो । यसले वेवमा आधारित प्रणालीमा रहेर मालवस्तु र ढुवानीको संक्षिप्त विवरण दिने गर्दछ । राजश्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार २०७१ सालमै यो व्यवस्था लागू गर्न कानुन बनिसकेको थियो, तर अहिले बल्ल हामीले साउन १ गतेदेखि लागू गरेका छौँ ।

यो डिजिटल नेपालको एउटा अभ्यास पनि हो । गएको एक वर्षदेखि नै हामीले यसको लागि सफ्टवेर विकास गर्ने काम गरिरहेका थियौं । बीचबीचमा हामीले सरकारी र निजी क्षेत्रका सरोकारवाला व्यक्तिहरुसँग भीसीटीएसका बारेमा छलफल गरिरहेका थियौँ । यसमा सबैको साथ र सहयोग रहेको थियो ।

यो एकदमै सामान्य प्रक्रिया हो । यसलाई अहिले निकै ठूलो कुरा र लागू गर्नै नसकिने जस्तो गरी केही व्यक्तिले विरोध गरेको पनि सुनेको छु । तर भन्सार बिन्दु र ठूला व्यापारिक गृह तथा उद्योगबाट मालवस्तु बोेकेका सवारी साधन र मालवस्तुको निगरानी मात्रै हो ।

मालवस्तु ढुवानी गर्नेहरुले कसरी यसको प्रयोग गर्न सक्छन् त ?

यसको लागि ठूलो परिमाणमा मालवस्तु ओसारपसार गर्ने थोक बिक्रेताले आफूले कुन सामग्री, कति परिमाणमा कुन गाडीबाट कहाँबाट ढुवानी गर्दैछु भन्ने जानकारी राजश्व अनुसन्धान विभागको वेवसाइटमा अपलोड गर्नुपर्छ । त्यहाँ ढुवानी साधनको नम्बर, चालकको नाम, बिलबिजक नम्बर पनि अपलोड गर्नुपर्छ ।

जानकारी अपलोड गरेपछि एउटा क्यूआर कोड पाइन्छ, त्यसैलाई मोबाइलमा फोटो खिचे पनि हुन्छ र फोटोकपी गरे पनि हुन्छ । बाटोमा कतै जाँच भयो भने त्यही कोड देखाइदिए पुग्छ । यसअघि जस्तो लाइन बसेर सबै बिलबिजक देखाउनुपर्दैन । त्यसको लागि सरकारले सडकका ढाट हटाइसकेको छ ।

यो अत्यन्तै सजिलो प्रणाली हो । युजर आइडी र पासवर्ड आफैँले लिने र आफैँले राख्न पाइने हुँदा सुरक्षित पनि उत्तिकै छ । एक ट्रक सामग्रिको जाँच गर्न २ घन्टा लाइनमा बस्नुपर्छ भने यसमा त  ३० सेकेण्डमै काम पूरा हुन्छ त  । झन सजिलो प्रणाली ल्याउँदा विरोध किन भैरहेको छ कुन्नी ।
 
आयात हुने बिन्दुमा चाहिँ कसले गर्ने यो काम ?

आयातको बिन्दुमा भन्सार एजेन्टले नै यो काम गर्ने हो । उनीहरुले जसरी पहिला कागजात कार्यालयमा बुझाउँथे, अहिले त्यही कागजातमा भएको विवरण हाम्रो वेवसाइटमा  राखे पुग्छ । आयातकर्ता काठमाण्डौमा बसे पनि सिस्टममा इन्ट्री भन्सारले नै गराउने भएकाले यहाँ काठमाण्डौमै बसेर भन्सारतिरको चिन्ता लिनु उपयुक्त छैन ।

विगतमा हामीले विभिन्न ट्रान्सपोर्ट कम्पनीले ढुवानी गर्ने मालवस्तु बिल बिजक हेरेर छाड्ने गर्थ्यौं, बिलबिजक देखाउने काम ट्रान्सपोर्ट कम्पनीकै थियो । आज पनि हाम्रो सिस्टममा बिलबिजकको जानकारी अपलोड गर्ने जिम्मा ट्रान्सपोर्टकै हुन्छ ।

यदि आफ्नो उद्योगबाट उत्पादित सामग्री थोक बिक्रेतालाई बेच्ने हो भने उद्योगले नै जानकारी अपलोड गर्नुपर्ने हुन्छ । तर उद्योग या वितरकले उपभोक्तालाई मालवस्तु बिक्री गर्ने हो भने भीसीटीएसमा जानु पर्दैन । यो  प्रणाली थोक बिक्रेताको लागि मात्रै हो ।

यो प्रणालीको मुख्य उदेश्य कर छल्नेहरुलाई कडाइ गर्ने र मालबस्तु तथा ढुवानी साधनको निगरानी हो भन्नुभयो । पहिला कर छल्नेहरु अब यो प्रणाली लागू भएपछि कसरी अप्ठ्यारोमा पर्छन् त ?

यो प्रणालीमा आएपछि कर छल्ने सम्भावना निकै कम हुन्छ । यसअघि कर छलिरहेकाहरुलाई पनि यसले रोक्छ ।

यो प्रणालीमा आएपछि कर छल्ने सम्भावना निकै कम हुन्छ । यसअघि कर छलिरहेकाहरुलाई पनि यसले रोक्छ । उदाहरणको लागि नारायणगढको कुनै थोक बिक्रेताले बुटवल लगेर सामग्री बेच्दा यसअघि एउटै बिल पटक पटक देखाएर उसले ढुवानी गरिरहेको हुन्थ्यो । एउटै बिल देखाएर कयौंपटक सामग्री ओसारपसार गरेको हामीले पाएका छौं । तर भीसीटीएस सिस्टममा आएपछि त्यस्तो हुँदैन । कुनै पनि नम्बरको बिल दोस्रोपटक यो सिस्टमले लिँदैन । दोस्रोपटक नलिएपछि बाध्यताले पनि व्यापारी या ढुवानीकर्ताले यो सिस्टममा अनिवार्य नयाँ जानकारी प्रवेश गराउनैपर्छ ।

यसअघि नियमित राजश्व तिर्नेहरुले सामग्री केही महँगोमा बेच्नुपथ्र्यो । मुनाफा कम हुन्थ्यो । तर एउटै बिलका आधारमा पटकपटक कारोबार गर्नेहरुले कर छलेर केही सस्तो मूल्यमा सामान बेच्ने गर्थे र मुनाफा पनि धेरै हुन्थ्यो । यसरी कर तिर्नेहरु विस्थापित हुने र कर नतिर्नेहरु मज्जाले ब्यापार गर्ने अवस्था हटाउन पनि भीसीटीएस जरुरी छ ।

केही ब्यापारीहरुले त पूर्वाधार नबनाइकन सरकारले अप्ठ्यारो प्रणाली ल्यायो, कार्यान्वयन गर्न समस्या छ भनेका छन् नि ?

अहिलेको जमानामा थोक बिक्रेता कोसँग इन्टरनेट र बिजुली छैन भन्नुस त । फेसबुक, ट्वीटर, भाइवर चलाउने, इन्टरनेटकै माध्यमबाट विश्वका अनेकौं देशबाट सामान मगाउने, आफन्तसँग भिडिओ च्याट गर्ने । तर यो प्रणालीमा आउन पूर्वाधार भएन भन्नु त हाँस्यास्पद भयो । यसको  लागि उहाँहरुले त केही पूर्वाधार नै बनाउनु परेन । ठूलोे खर्च लगाएर  हामीले वेवसाइट बनाएका छौं उहाँहरुले त आफूले कारोबार गर्ने जानकारी अपलोड मात्रै गर्ने हो ।

सडकमा ढाट लगाएर एक एक गरेर गाडी जाँच गर्दा पनि आरोप नै लाग्थ्यो । दुनियाँ कहाँ पुगिसक्यो, नेपालमा अझै सडकमा गाडी जाँच हुन्छ भन्ने उहाँहरु नै हो । अहिले हामीले ढाट हटाएर डिजिटल अभ्यास सुरु गरेका छौं, यसको पनि विरोध भैरहेको छ ।

खुद्रा पसलेले पनि अब हरेक पटक सामान वल्लो गल्लीबाट पल्लो गल्लीमा लैजान पर्‍यो भने सिस्टममा इन्ट्री गर्नुपर्ने भयो भनेर पनि हल्ला छ नि ?

ठूला उद्योगी व्यवसायी र ढुवानीकर्ताले यसको विरोध गर्नुभएको छ्रैन ।  हामीले यो प्रणाली लागू गरेको ५ दिन नपुग्दै झण्डै ६ हजार ढुवानी साधनले यो सेवा लिएर ढुवानी गरिसके । तर जुन उद्योगी व्यापारी यो सिस्टममा आउनै पर्दैन, उहाँहरुले विरोध गरेको देखिएको छ ।

हामीले भनेकै छौं, उद्योगले कृषकबाट कच्चा पदार्थ जस्तै धान, गहुँ, मकै, उखु जस्ता वस्तु खरिद गर्दा यसमा जानकारी नगराए पनि हुन्छ ।

यस्तै खुद्रा कारोबार गर्नेहरुले यसमा जानकारी अपलोड गर्नु पर्दैन । गरे पनि हाम्रो सिस्टमले लिँदैन । उद्योग, वितरक वा थोक बिक्रेताले सोझै आफैँले मालवस्तु आफ्नो कारोवारको स्थलबाट सोझै बिक्री गरी पठाउँदा मात्र यो प्रणालीमा आउनुपर्छ ।  

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली संग उज्यालोमा कार्यरत अर्जुन पोख्रेलले गरेको कुराकानी साभार गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)