दमक,

झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहोर मापदण्ड विपरित अस्पताल परिसरमै जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको अस्पतालजन्य फोहोर अस्पताल परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् ।

स्वास्थ्य संस्था स्थापना , सञ्चालन तथा स्तारोन्नति मापदण्ड सम्वन्धी निर्देशिका – २०७० मा ‘अस्पतालबाट निस्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहोरमैला प्रकृति अनुसार स्रोतमै अलग – अलग छुट्टयाउने, संकलन तथा उचित बिर्सजन गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ’ भनिएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहोरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनु पर्ने व्यवस्था भएपनि लाइफलाइन अस्पतालले अस्पतालबाट निस्किएको सबै फोहोर जलाउने गरेको पाइएको हो ।

ऐनको उपनियम २ वमोजिम स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्यसंस्था जन्य फोहोरमैलाको प्रशोधन , निर्मलीकरण एवम व्यवस्थापन सम्वन्धी कार्य आफैंले गर्नु पर्ने व्यवस्था गरेको भएपनि अस्पतालले वर्षौदेखि अस्पतालबाट निस्किएको फाहोर यसैगरी जलाउँदै आएको स्थानीयको भनाई छ ।
अस्पतालबाट निस्किएको फोहोरमैलाको उचीत व्यवस्थापन नहुँदा भाइरलको समस्या देखापरेको स्थानीवासी शान्तादेखि निरौलाले अस्पताल प्रशासनले लापरवाही गरेको भन्दै विरोध जनाउनुभयो । उहाँले भन्नुभयो –‘ वर्षौदेखि यो अस्पतालले यसैगरी अस्पतालको सबै फोहोर जलाउँदै आएको छ । जसका कराण वालवालिकानमा भाइरलको समस्या देखा परेको छ ।’
दमक नगरपालिका – १० मा रहेको सो अस्पतालले अस्पतालको पश्चिम तर्फ रहेको खाली जमिनमा फोहोर जलाउने गरेको छ । फोहोर जलाउँदा धुँवाका कारण वालवालिकामा स्वास प्रश्वासमा समस्य, भाइरल ज्वरो, खोकी लगेर अस्पताल नै लानु परेको निरौलाले बताउनुभयो ।
‘विरामी लिएर अस्पताल आए डाक्टरले वालवालिकालाई धुवा, धुलोबाट बचाउनु भन्नुहुन्छ’ निरौलाले भन्नुभयो – यो अस्पतालले आफैं वातावरण प्रदुषित गर्दै फोहोर अस्पताल परिसरमै जलाई रहेको छ । अनि कसरी बचाउनु वालवालिकालाई’ उहाँले उल्टै प्रतिप्रश्न गर्नुभयो ।
अस्पतालले तीन दिनदेखि खुरुखुरु दिउँसो अस्पताल परिसरभित्रै फोहोर जलाएको भन्दै स्थानीवासीले अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिप्रसाद भट्टराईलाई फोहोर जलाउन बन्द नगरे अस्पताल घेराउ गर्ने चेतावनी दिए ।
अस्पतालबाट सृजित संक्रमणजन्य फोहोरलाई नि–संक्रमण गरेर अन्तिम व्यवस्थापन गर्नु पर्ने हुन्छ । तर, दमक – १० मा रहेको एक सय शैयाको सो अस्पतालले अस्पतालबाट निस्किएको सवै फोहोर जलाउँने गरेकाले वालवालिका विरामी पर्न थालेपछि स्थानीयले आवाज उठाएका हुन् ।
स्वास्थ्य संस्था स्थापना , सञ्चालन तथा स्तारोन्नति मापदण्ड सम्वन्धी निर्देशिका – २०७० ले फोहरको सेग्रिगेशन, कलेक्सन, ट्रान्सपोर्टेशन, ट्रिटमेन्ट र अन्तिम बिसर्जन छुट्टै योजना तयार गरी उपयुक्त प्रविधिबाट फोहरव्यवस्थापन गर्नु पर्ने भनेपनि अस्पताल सञ्चालकले आफूखुशी फोहोर अस्पताल परिसर भित्रै जलाउँदा मानव स्वास्थ्यमा अस्पतालकै कारण गम्भीर असर परेको बताइन्छ ।
अस्पतालले फोहोरमैला व्यवस्थापन गर्दा मर्करीयुक्त उपकरणहरुको सट्टामा डिजिटालाइज्ड उपकरण प्रयोगमा ल्याउनुपर्ने निर्देशिकाले प्रष्ट भनेपनि अस्पतालले आफ्नै खाली जमिनलाई डम्पिङसाइड बनाएको स्थानीयवासी जीवन विष्टले बताउनुभयो । उहाँँले भन्नुभयो – ‘आफूहरुले पटक– पटक अस्पतालबाट निस्किएको फोहोर जलाउनु हुँदैन भनेपनि अस्पताल प्रशासनले गाउँहरुलेको कुराको कुनै सुनुवाई गरेको छैन ।’
अस्पतालबाट निस्कने फोहोरकै कारण गाउँमा दुर्गन्ध फैलिएर कोही पनि विरामी हुन नहुँने विष्टको भनाई छ । तीन वर्षअघि नै अस्पतालबाट निस्कने फोहोर यसरी नजलाउन अस्पताल प्रशासनलाई भने पनि अस्पतालले नटेरेको अर्का स्थानीयवासी पुण्य पोखरेले बताउनुहुन्छ । उहाँले भन्नुभयो – अस्पतालले फाहोर जलाएर छेउछाउमा बसिसक्नु भएको छैन,जति पटक भनेपनि अस्पताल प्रशासन सुनेको नसुकोनसुने झैं गर्छ ।
यता अस्पताल प्रशासनले भने संयोगवस यस्तो भएको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिनाथ भट्टराईले आफूहरुले नियतबस यस्तो नगरेको बताउनुभयो । उहाँँले भन्नुभयो – कर्मचारीबाट यस्तो गल्ती भयो होला, नगरपालिकासंग समन्वय गरेर फोहोर तत्काल व्यवस्थापन गर्छाैं ।
स्वास्थ्य संस्थाबाट उत्पादन तथा निष्कासन हुने सामान्य प्रकृतिका फोहोरमैला तथा स्वास्थ्य संस्था जन्य हानिकारक फोहोरमैलालाई प्रशोधित तथा निर्मलीकरण गरे पश्चात प्रशोधित उक्त फोहोरमैला समेतलाई स्थानीय निकायले सम्वन्धित स्वास्थ्य संस्थासंग सेवा शुल्क लिई विर्सजनको व्यवस्था मिलाउन सक्ने र स्वास्थ्य संस्थाजन्य संक्रमित फोहोर पूर्ण रुपमा निर्मलीकरण भए नभएको मान्यताप्राप्त प्रयोगशालाबाट जाँच गराई प्रमाणित गराउनु पर्ने हुन्छ ।
तर,दमकमा रहेको लाइफलाईन अस्पतालबाट निस्किएको फोहोरलाई उचीत व्यवस्थापन नगर्दा रोगको संक्रमण फैलिएर पुनः सोही अस्पताल भर्ना हुनुपर्ने अवस्था सृजना भएको स्थानीयवासीको आरोप छ ।

