Aamsanchar

क्यानडा पठाई दिन्छु भन्दै आठ सय जनासंग ठगी झापामा पक्राउ

Author Image
शुक्रवार, साउन ३१, २०७६

झापा । 

अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको संख्या पनि नेपालमा कमी छैन ।

झापामा यस्तै घटना घट्यो । एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेको पाइएको छ । झापालीलाई ठग्ने ती युवालाई प्रहरीले साउन १९ गते झापाको काकडभिट्टा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् ।

प्रदेश नम्बर एकको प्रहरी टोली, जिल्ला प्रहरी कार्यलय झापा र इलाका प्रहरी कार्यालय अनारमनी को सादा पोसाकका प्रहरीले पक्राउ गरको हो । ईलाका प्रहरी कार्यलय बिर्तामोडले पिडितको संवेदनशितला र अनुसन्धानका कारणले ढिलो गरि संचारमाध्यममा सार्वजनिक गरिएको बताएको छ ।

ठग्नकै लागि पाँचवटा ‘फेक आईडी’

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए । उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा फेसबुक एकाउन्ट खोलेका थिए ।

ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

ठग्न सजिलो ‘म्यासेन्जर’

उनले फेसबुकको म्यासेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) सँग सम्पर्क गर्थे र मित्रता जोड्थे । त्यसपछि उनी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको र उतै बिहे गरी पीआरसमेत प्राप्त गरेको भनेर ढाँट्थे ।

डीएसपी थापाका अनुसार क्यानडामा आफ्नै लगानीमा चारवटा वटा क्याफे सञ्चालन गरिराखेको र कैयौं नेपालीहरुलाई रोजगारी दिलाएको तथा गैरआवासीय नेपाली संघ र आफु क्यानडाको उच्च पदस्थ अधिकारीसमेत भएको बताउने गरेका थिए । यस्तो परिचय दिएपछि सहजै अरुको विश्वास आफूमाथि हुने उनको बुझाइ थियो । विदेशमा भएका नेपालीमार्फत् नेपालमा भएका युवासँग पनि उनी दोस्ती अगाडि बढाउँथे ।

निरोगी बाबुलाई रोगी बनाएर ढाट्थे

त्यसपछि उनी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको नेपाली युवालाई बताउँथे ।

त्यहीबीचमा उनले बाबुलाई क्यानडा लैजाँदा ‘स्पोन्सर्ड’ भिसामा अरुलाई पनि क्यानडा लैजान सकिने बताउदै आएका थिए । त्यसक्रममा उनले दूतावासमा चार लाख खर्च हुनेमा दुइ लाख आफू नै सहयोग गरिदिने र सो रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वास दिलाएको अनुसन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए । त्यसका लागि सयौं युवा तयार भए ।

यसरी भागेका थिए खड्का

रामबहादुर खड्काले पीडित व्यक्तिहरुलाई दिल्लीस्थित क्यानडा दूतावासमा अन्तरवार्ताका लागि भारत सिलगुडीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै सबैलाई तयार गरे ।

झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारतको पानीटंकीसम्म बोलाएर दूतावासमा अन्तरवार्ताका लागि चिटिक्क हुनुपर्छ भनेर सिकाए । त्यही क्रममा सबैलाई कपाल काट्न लगाउँदै आफूचाहिँ पीडितहरुसँग भएको पैसा मागी भारु साटेर आउँछु भन्दै निस्किए । त्यसपछि उनले आफ्नो आईडीबाट सबैलाई ब्लक गर्दै मोबाइल अफ गरेर फरार भएका थिए ।

झापामा मात्रै १ सय वढी उजुरी

डीएसपी थापाका अनुसार खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने अनुमान छ । खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टामा उजुरी दिनेहरुको संख्या एक सयभन्दा बढी छ ।

पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यहाँसम्म कि खड्काले पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध महसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर