बिर्तामोड, भदौ १ । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल मर्मलाई अघी सारेर स्थानिय तिन वटा संस्थाको अगुवाईमा झापाको बिर्तामोडमा कपडा बैंक संचालनमा आउने भएको छ ।
बिर्तामोडका क्रियाशिल संस्थाहरु पञ्चकन्या मर्निङ ग्रुप, रोटरी क्लव अफ बिर्तामोड र महिला उद्यमी संघ झापाको अग्रसरतामा निशुल्क कपडा बैंक भदौ ३ गते बाट संचालनमा आउने आज आयोजित पत्रकार भेटघाटमा संयोजक सुरेशकुमार वंशलले जानकारी दिएका छन ।
मानिस भएर जन्मे पस्चात शरिरको बाहिरी आवरण ढाकछोप गर्नको लागि लत्ताकपडा नभई नहुने बस्तु हो तर समाजमा कति मानिस दैनिक फरक फरक लुगा फेर्छन, कयांै मानिस एकसरो लुगा लगाउन नपाएर हिनता वोध गरि रहेका हुन्छन । त्यस्तै दिन दुःखीलाई सानै भएपनि दिर्घकालिन समय सम्म सहयोग गर्ने उदेश्यले कपडा बैंक संचालन गरिन लागेको पञ्चकन्या मर्निङ ग्रुपका मदनगोपाल सुब्बाले बताएका छन ।
घर घरमा प्रयोग गर्न छोडिएको कपडाहरु दराज आलमाडीमा थन्किएर रहेको छुन्छ तर गाउँ सहरमा कयौ मानिस कपडा अभावको चरम चपेटामा परेका हुन्छन त्यस्ता महानुभाव हरुलाई कपडा उपलब्ध गराएर समाज सेवा गरेको अनुभूती र आत्म सन्तुष्टी प्राप्त गर्न, सम्पूर्ण नगरवासीलाई आफ्नो पुरानो कपडा धोएर निशुल्क उपलब्ध गराई दिन रोटरी क्लव अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीले आवहान गरेकी छिन ।
हरेक व्यक्ती र संघ संस्थाको सामाजिक उत्तरदाहित्व हुन्छ, कयौ किसिमका कामहरु पनि समाजमा भएका छन, तर यस किसिमको विशुद्ध सेवामुलक कार्यक्रम बिर्तामोडको लागि नौलो हो र निकै महत्वपूर्ण रहेकोले स्थानिय सबै संघ संस्थाहरुलाई यो अभियानमा जोडिन महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले आवहान गरेकी छिन ।
बिर्तामोड मुक्तीचौक पूर्व २ सय मिटर दक्षिण तर्फ रहेको वंशल मार्केटमा सुरु गरिन लागिएको कपडा बैंकबाट एक व्यक्तले एक पटकमा दुई थान कपडा रोजेर निशुल्क लैजान सक्ने छन ।