Aamsanchar

पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे प्रधानमन्त्री सरकारी निवासमा छलफल

Author Image
मङ्गलवार, भदौ ३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे छलफल भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा मुलुकको राजनीतिलाई अस्थिर बनाउन पूर्वराजा र विप्लव समूहले चलखेल गरेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने विषयमा नेताहरुले छलफल गरेका हुन् ।

राज्यलाई कमजोर पार्ने तथा व्यवस्था नै उल्ट्याउने गरी ‘दक्षिणपन्थीबाट षड्यन्त्र’ तथा ‘उग्रवामपन्थीबाट प्रहार’ भइरहेकाले यसप्रति सरकार र सबै दल सचेत हुनुपर्ने कुरा बैठकमा दलका नेताहरुले राख्नुभयो,’ छलफलमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसलाई गम्भीररुपले हेर्दै मिलेर यस्ता शक्तिको सामना गर्ने विषयमा सबै दल एकमत हुने निर्णय गरियो ।’

उनका अनुसार संविधान कार्यान्वयनका क्रममा केही चुनौती देखिएको भन्दै नेताहरुले सबै दल एकै ठाउँमा उभिएर त्यसको सामना गर्नुपर्नेमा जोड दिएका थिए । ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि नै प्रहार हुँदा संविधान कार्यान्वयनमा केही चुनौती देखिएका छन्,’ श्रेष्ठले भने, ‘यस्तै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि केही चुनौती देखिएका छन् । यस्ता चुनौतीलाई मिलेर चिर्न सबै दल एकै ठाउँमा उभिने निर्णय भएको छ ।’

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्न प्रधानमन्त्रीले एक वर्षपछि सर्वदलीय बैठक बोलाउनु सकारात्मक भएको प्रतिक्रिया दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विचारधीन विभिन्न विधेयक कांग्रेससँग सहमति गरेर मात्र अघि बढाउने प्रतिबद्धता जनाएका नेता सिटौलाले जानकारी दिए । ‘मिडिया काउन्सिल, मानवअधिकार, सुरक्षा परिषद्सँग सम्बन्धित विधेयकहरु कांग्रेससँग सहमति गरेर मात्र अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनु भएको छ,’ सिटौलाले भने ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्बाङ, गृहमन्त्रीसमेत रहेका नेकपा नेता रामबहादुर थापा ‘बादल’, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाल बैठकमा सहभागी थिए ।

यस्तै उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, राजकिशोर यादवलगायत पनि बैठकमा थिए ।

पार्टीका विभाग प्रमुख चयनमा असन्तुष्टि जनाउँदै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएनन् ।

सर्वदलीय बैठक बालुवाटारमा बुधबार साँझ ५ बजे पुनः बस्ने नेताहरूले बताएका छन् ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर