Aamsanchar

एउटा धारा जडान गर्न रु ४० हजार

Author Image
बुधवार, भदौ ४, २०७६

भक्तपुर, 

सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ ।

विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले एक महीनाभित्र साधारणसभा गर्न निर्देशन दिएको हो ।

सूर्यविनायक–१ सिरुटार वडा कार्यालयले आज आह्वान गरेको उपभोक्ता भेलामा सहभागी स्थानीय बासिन्दा एवं प्रदेश नं ३ का प्रदेश सांसद शशीजङ्ग थापा, वडाध्यक्ष सानुकाजी कायस्थ, समितिका पदाधिकारी, जनप्रतिनिधि एवं उपभोक्ता सहभागी भेलाले आगामी असोज १० गतेभित्र समितिलाई साधारणसभा गर्न अन्तिम समय दिएको हो ।असोज १० गतेभित्र साधारणसभा नगरे वडा कार्यालयले उक्त समिति विघटन गरी नयाँ समिति गठन गरेर अनियमितताबारे छानबिन गर्ने सर्तमा सबै सहमत भएका छन् ।

समितिमा रहेका पदाधिकारीमध्ये कोषाध्यक्षसहित दुई सदस्यको मृत्यु भइसकेको र हाल अध्यक्ष, सचिव र सदस्यसहित चार जना मात्रै रहँदा समितिभन्दा कर्मचारी हाबी हुँदा अनियमितता भएको र कर्मचारीले रु १० हजारमा जडान गर्नुपर्ने धारालाई ४० हजारसम्म लिएर जडान गर्ने गरेको भन्दै छलफलमा समितिको व्यापक आलोचना भएको थियो ।भेलामा सांसद थापाले काकाकुल रहेको सिरुटारमा आफू गाविस अध्यक्ष हुँदादेखि खानेपानी ल्याउन पहल भएको बताउँदै आएको खानेपानी पनि अव्यवस्थित हुँदा कतै वर्र्षौंदेखि पानी नगएको र कतै जथाभावी छाडिएको पाएको बताउनुभयो ।

खानेपानीका कर्मचारीबाट व्यापक अनियमितता भएको, एउटै धारा जडान गर्न कर्मचारीले रु एक लाखसम्म मागेको गुनासो आफूमा आएको बताउँदै भेलाको निर्णयानुसार असोज १० गतेभित्र साधारणसभा गर्न समितिलाई निर्देशन दिनुभयो ।

वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले असोज १० गतेभित्र समितिले साधारणसभा नगरे असोज ११ गते नगरपालिकाले हस्तक्षेप गर्ने र समिति सञ्चालन गरेर अनियमितताबारे छानबिन गरिने निर्णय भएको बताउनुभयो । समितिका अध्यक्ष अच्युत मिश्रले आफूले निकै दुःख गरेर खानेपानीको व्यवस्था गरेको बताउँदै केही कर्मचारीको बेइमानीले समस्या आएको बताउनुभयो ।

उहाँले समितिको अडिट भइरहेको बताउँदै भेलाले गरेको निर्णयानुसार असोज १० गते अगाडि नै साधारणसभा गरेर नयाँ समिति गठन गर्ने बताउनुभयो ।यसअघि पनि समितिले एक वर्ष अघि डिभिजन खानेपानी कार्यालयमा भेला गरी जनप्रतिनिधिको रोहबरमा ४५ दिनभित्र साधारणसभा गर्ने भनिए पनि हुन सकेन ।

साधारणसभा नहुँदा सरकारी तथा गैरसरकारी संस्थाले बजेट नदिँदा थप खानेपानीको व्यवस्था गर्न र पानी शुद्धीकरणसमेत गर्न सकिएको छैन । यसक्षेत्रमा चार वर्षदेखि सिरुटार उपयोगी चोक क्षेत्रमा पानी आएको छैन भने केही स्थानमा सातामा केही दिन र केही स्थानमा तरकारीमा लगाउनसमेत पुग्ने गरी पानी वितरण गर्दै आएको स्थानीवासीको भनाइ छ ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर