
इटहरी । नेपाल भारत सम्झौता अनुसार सीमाको दशगजा क्षेत्रमा दुवै मुलुकले स्थायी वा अस्थायी संरचना बनाउन पाउँदैन । तर पूर्वी नेपालको जोगबनी,काँकडभिट्टा पछि बढी सामान आयात हुने छोटी भन्सार समेत भण्टावारीक्षेत्रमा भने भारतले एकपक्षीय रूपले स्वागत गेट बनाएको छ । भारत आउजाउ गर्ने सुनसरीको मात्र हैन पूर्वकै मुख्य नाका भित्रै पर्ने भान्टावारी नाकामा भारतले दशगजा मिचेर गेट बनाएको हो । नेपाल भारत मैत्रीपोखरीमा बाध बनाएर आधिकारिक स्थल सम्बन्ध जोडिएको ठाउँमा भारतले भने सम्झौता विपरीत स्थायी संरचना निर्माण गरेको हो ।



छोटी भन्सार भन्ने बित्तिकै नेपाली सशस्त्र प्रहरीको उपस्थिति पनि बाक्लै हुन्छ । सशस्त्र प्रहरीको सङ्ख्या उल्लेख्य हुँदा समेत नेपालले भने कुनै आवाज उठाउन सकेन । स्थानीय प्रशासनले कुनै कदम नचाल्दा भाण्टावारी स्थित नेपाल भारत सीमाक्षेत्रको दशगजा मिचेरै संरचना बनाउदा पनि सशस्त्र मूकदर्शक बनेको हो । चार महिना अघि मात्र भारतले सशस्त्र प्रहरीको चेकपोस्टको १ सय मिटर छेउमै गेट बनाएको थियो । पक्की संरचनाको गेटमा निलो रातो रङ भित्र सेतो लेखिएको छ ‘भारतमे आपका स्वागत है ।’ स्वागत मात्र हैन दसगजा नै मिचेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गेट सम्म नै भएको बताउँदै आएको छ ।

वैशाख अन्तिममा बनाएपछि धेरै पटक नेपाल भारतका अधिकारीहरूको विभिन्न बैठकहरू भएका छन् । निरन्तर बैठक हुने भए पनि अहिले सम्म सो गेटको बिसमयमा संयुक्त बैठकमा छलफल हुन् नसकेको बैठक टोलीका एक सदस्य बताउँछन् । ’धेरै पटक बैठक बसिसक्यौ’ सुरक्षा निकायका एक सदस्यले भने ’तर दशगजा मिचिएको विषयमा तपाइले भने जस्तो गेटको बिसमयमा भारतीय समकक्षी समक्ष हाकिमसाब हरूले कुनै सोधपुध गर्नु भएको छैन ।’



