Aamsanchar

विगतमा गाउँ छोडेर हिँडेका मानहुँवासी पर्यटकीय विकाससँगै गाउँ फर्कदै

Author Image
शनिवार, भदौ ७, २०७६

तनहुँ,

उमेरले व्यास नगरपालिका–५ मानहुँकोटका सुकराम थापामगर ६९ वर्ष पुगी सक्नुभएको छ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनुभएका उहाँलाई घरायसी सरसामान किन्न पनि तनहुँको सदरमुकाम दमौली जानुपर्ने वाध्यता छ । त्यहाँबाट घर फर्कन झण्डै दुई घण्टाभन्दा बढी समय कस्सिएर हिँड्नु पथ्र्यो ।

जीवनको लामो समय यस्तै सङ्घर्षमा बिते सुकरामका ।उमेरले बुढ्यौली लागे पनि अहिले भने उहाँको अनुहारमा चमक छ । पछिल्ला दुई वर्षयता दिनहुँजसो मानहँुकोट आउने पर्यटकका कारण उहाँको दैनिकी व्यस्त बनेको छ । घरमै खाजा घर सञ्चालन गरेपछि पर्यटक र तिनका पथप्रदर्शकले खाजा खाने र विभिन्न सामग्री खरीद गर्ने हुँदा यसले उहाँको आयआर्जन पनि राम्रै छ ।

विगतमा ७० वटासम्म घर भएको मानहुँकोटमा अहिले जम्मा सातवटा घर मात्रै छन् तर ती सातवटै घरमा अहिले स्थानीयले खाजा घर राखेका छन् । सदरमुकामबाट नजिकै रहेर पनि पूर्वाधार विकास, बाटोघाटो, खानेपानी आदिका कारण दुर्गमजस्तै बनेको यस ठाउँको पर्यटकीय सम्भाव्यतालाई दृष्टिगत गरी व्यास नगरपालिकाले चासो दिएसँगै यो ठाउँ यतिखेर काँचुली फेर्ने अवस्थामा पुगेको हो ।

सदरमुकामबाट झण्डै दुई घण्टाभन्दा बढी हिँडेर पुगिने यस ठाउँमा अहिले भने सवारीसाधनबाट करीब २५÷३० मिनेटमै पुग्न सकिन्छ । विगतमा खानेपानीको चरम समस्या झेलेका स्थानीयवासीका लागि गाउँमा नै आकाशे पानी सङ्कलन गर्ने गरी ट्याङ्की निर्माण गरिएपछि ठूलै राहत मिलेको अर्की स्थानीयवासी रेवती आलेमगरले जानकारी दिनुभयो ।

“पहिला राति १ बजे उठेर पानी लिन जान्थ्यौँ, उज्यालो हुँदा जम्मा दुई खेप पानी ल्याउन सकिन्थ्यो”, विगत सम्झँदै ६० वर्षीया रेवतीले भन्नुभयो, “ती दिनभन्दा त अहिले त धेरै सुविधा भएको छ, आकाशे पानी सङ्कलन हुने भएकाले त्यसले ठूलै राहत मिलेको छ ।”पानीको स्रोत तल र गाउँमाथि हुँदा पानीको समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । भएका पानीका स्रोतलाई व्यवस्थित गर्ने लक्ष्यका साथ सपाङ्दी भिरपानी खानेपानी कुवालाई व्यवस्थित बनाएका कारण अहिले त्यहाँबाट पानी ल्याउन केही सहज भएको उहाँले बताउनुभयो ।

विगतका दुःखका दिन हराउँदै गएका कारण सुविधाको खोजीमा गाउँ छोडेर गएका अब भने फर्कने मनस्थितिमा रहेको उहाँले बताउनुभयो । अलैँचेबाट मानहुँकोटसम्म सात किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।करीब डेढ किलोमिटर कालोपत्रे भइसकेकामा बाँकी सडक यही आर्थिक वर्षमा सक्ने गरी रु १० करोड विनियोजन गरिएको छ । करीब रु आठ करोडको लागतमा काम सक्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मानहुँकोटबाट अन्नपूर्ण, माछापुच्छ«े हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थललगायतका मनोरम दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न पछिल्ला समयमा यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको अर्की स्थानीयवासी मधुमाया थापा मगरले बताउनुभयो । दमौलीको गर्मी छल्न र केही समय भने पनि प्राकृतिक सौन्दर्यतामा रमाउन समय निकालेर आउनेको सङ्ख्या पनि उत्तिकै छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार २०७४ सालदेखि यहाँबाट पुलिमराङसम्म गर्न थालिएको ४४ किलोमिटर म्याराथनले पनि यसको चासो र चर्चा अझै चुलिएको हो । “स्थानीय तहमा आफूहरू आएपछि मानहुँकोटको प्रचारप्रसार र विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “प्रचारप्रसार र पूर्वाधार विकाससँगै यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।”मानहुँकोट विशेषगरी मगर जातिको बाहुल्यता भएको ठाउँ हो । मगर समुदायका संस्कार र संस्कृति बुझ्न पनि यो महत्वपूर्ण गन्तव्य बन्न सक्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताउनुहुन्छ ।

मानहुँ प्राकृतिक रुपमा रमणीय मगर जातिको वासस्थान एवं यदुनाथ खनालको पनि जन्मभूमि भएको उल्लेख गर्दै उहाँले मानहुँ र नेपालको लोकतान्त्रिक आन्दोलनमा छ÷छ जना व्यक्ति गुमाएको शहीदको गाउँ पुलिमराङलाई पनि सँगसँगै विकास गर्ने सोच राखिएको बताउनुभयो । मानहुँबाट पुलिमराङसम्मको म्याराथनले यी दुवै ऐतिहासिक स्थललाई जोड्न महत्वपूर्ण सहयोग पु¥याएको छ ।

नगरपालिकाले यहाँको विकासलाई उच्च प्राथमिकतामा राख्दै अघि बढेको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।यहाँस्थित दुर्गा मन्दिरमा बडादशैँ तथा चैतेदशैँमा र मङ्सिर पूर्णिमाका दिन सिद्धबाबा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मनोकांक्षा पूरा हुने जनविश्वासका आधारमा यहाँ भाकलसहित पूजा गर्न आउनेको आकर्षण पनि बढेको छ ।

व्यास नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्थल बनाउने तयारी गरिएको छ । नगरपालिकाले रु ३० लाख बजेटसमेत विनियोजन गरिसकेको छ । दृश्यावलोकन स्थलबाट मादी र सेती नदीमा बनाइने बाँध, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखालगायतका जिल्लाका मनोरम दृश्य पर्यटकले एक साथ अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो ।

खानेपानीको अभावले गर्दा अझै यसको पर्यटन विकासमा बाधा पुगेको स्थानीयवासी बताउँछन् । खानेपानीको उचित व्यवस्थापन गरिदिन स्थानीयले माग गरेका छन् । नगरपालिकाले मानहुँकोटमा लिफ्ट प्रविधिमार्फत् खानेपानी योजना सञ्चालन गर्न लागिएको जनाएको छ ।

मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ हो । यहाँबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले रु ३० लाखको लागतमा डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष रेलिङका लागि रु पाँच लाख छुट्याइएको छ । कूल ७०० मिटर दूरीमा तारबार गर्ने नगरपालिकाको योजना छ ।पछिल्ला समयमा बन्दै गएका पूर्वाधार र मानहुँको प्रचारप्रसारसँगै बढ्दै गएको पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी विगतमा गाउँ छोडेर हिँडेका पुनः गाउँमा नै फर्कने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर