भद्रपुर : आइतबार बिहान १० बज्न १० मिनेट बाँकी छँदै नापी कार्यालय झापामा चहलपहल बढ्न थाल्यो। लाग्थ्यो, सेवाग्राही बिहानैदेखि कार्यालयमा आए र कर्मचारी पनि सेवा दिइरहेका छन्।

उनीहरू न सेवाग्राही थिए न त कर्मचारी। उनीहरू त बिचौलिया रहेछन्। घडीमा १० बज्यो। केही सेवाग्राही कार्यालयमा छिर्दै थिए। बिचौलियामध्येका एकले ‘ओहो तपाई कहाँबाट यहाँ ?यहाँ हामी छौं नि, तपाईंलाई के दुःख ? ’ भन्दै हात मिलाउन थाले। सेवाग्राही अलमलमा परे।

सेवाग्राही बिर्तामोड नगरपालिका–५ का सन्दीप खातुनले भने, ‘मैले तपाईलाई चिनेकै छैन।’ उनी तर्कंदै थिए। तर ती बिचौलियाले चिया खाने बहानामा कार्यालयपछाडिको क्यान्टिनमा लगेर आफ्नो काम हातमा लिए।

खातुन पाँच वर्ष दुबईमा बसेर आएका रहेछन्। विदेश नजाने भएपछि जग्गा बैंकमा धितो राख्ने प्रक्रियाका लागि नापीमा आएको उनले बताए। उनले भने, ‘मलाई यस्तै पैसा खान बसेका हुन्छन् भन्ने पनि थाहा थियो तर आज आफैं परियो। काम छिटो हुने लोभमा ३ हजार खर्च गरियो।’

१०ः४५ बज्दा कार्यालयका ३५ कर्मचारीमध्ये ४० प्रतिशतको मात्र उपस्थिति थियो। ‘एघार बजेसम्म सबै आउनुहुन्छ। यस्तै हो कसैको घर टाढा छ आउँदाआउँदै ढिला हुन्छ नि’, कर्मचारी सुरेश ठकुरीले भने।
कार्यालय भवन जीर्ण छ। गेट र पर्खाल छैन। पानीको एउटा जार राखिएको थियो, तर पानी थिएन। कार्यालयका भित्ताभरि पान खाएर थुकिएको छ। सेवाग्राहीलाई बस्नका लागि तीन वटा कुर्सीबाहेक केही छैन। कार्यालयका फाँटमा भन्दा चिया पसलमा चहलपहल देखिन्छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा राधा खनालले लेखेकी छन ।

