Aamsanchar

न्यून दृष्टियुक्त भएर पनि विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढ्ने सङ्कल्प गर्दै अमिट केसी

Author Image
मङ्गलवार, भदौ १०, २०७६

बलेवा, 

न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो ।

तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढ्ने सपना देखि रहनुभएको छ ।दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त केसी पुनः सगरमाथा चढ्ने लक्ष्य लिनुभएको छ । दुई वर्ष अघि सगरमाथा चढ्न जानुभएका केसी साउथ पोलमा पुगेर अक्सिजन सकिएपछि फर्किनुभएको थियो ।

आठ हजार मिटरको साउथ पोलमा मौसम खराबीले २४ घण्टासम्म बस्नुपरे पछि उहाँको अक्सिजन सकिएको थियो । तत्काल अक्सिजन थप्न दुई हजार डलर लाग्ने भएपछि पैसा र तत्कालै अक्सिजन नपाएर उहाँलाई फर्किनुपरेको थियो । केसीले आगामी वैशाखमा सगरमाथा चढ्ने तयारी थाल्नुभएको छ ।

पहिलो पटक दुई वर्षअघि चढ्न जाँदा प्राविधिक कारणले चुचुरोमा पुग्न नसकेर फर्किनुपरे पनि यस पटक चुचुरो पुग्ने सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।विश्वमा नेपालको नाम उच्च राख्न र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्न आफूले सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

यसअघि न्यून दृष्टियुक्त व्यक्ति अमेरिकी नागरिक ‘एरिक एहिङ मेयर’ले सगरमाथाको आठ हजार ८०० मिटर उचाइमा पुगेर फर्केको रेकर्ड छ ।अघिल्लो वर्ष सरकारले कानून संशोधन गरेर सगरमाथा चढ्न रोक लगाएपछि उहाँ निरास हुनुभयो र सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउने फैसला गरेको थियो । पर्वतारोहण नियमावलीको नियम ३ संशोधन नगर्न रिट परेपछि संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्ति पनि सगरमाथा चढ्न पाउने फैसला गरेको हो ।

समानताको हकविपरीत सरकारले नियम संशोधन गरेको भन्दै केसीले रिट दायर गर्नुभएको थियो । सबै प्रकारका प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि आठ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि जान सक्ने केसीले बताउनुभयो ।“पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ”, केसीले भन्नुभयो, “६० हजार अमेरिकी डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।” त्यसका लागि उहाँ अहिले आर्थिक सङ्कलन अभियानमा जुट्नुभएको छ । घरपरिवारबाटै बोझ सम्झने अपाङ्गता भएका व्यक्तिलार्ई सबैको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ भनेर उहाँले साहसिक कदम उठाएको बताउनुभयो ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर